• ८ वैशाख २०८२, सोमबार

टहराको किस्ता निकासाले दियो खुसी

blog

आठबिसकोट नगरपालिका–११ स्थित भूकम्प प्रभावितका टहरा । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, फागुन ८ गते । सरकारले अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम निकासा गरेको खबर सुनेपछि रुकुमपश्चिमका भूकम्प प्रभावितहरू खुसी भएका छन् । टहरा निर्माणको पहिलो किस्ता मात्र पाएका भूकम्प पीडितले थप रकम लगानी गरेर अस्थायी टहरा निर्माण गरेका थिए । 

भूकम्प गएको १५ महिनासम्म अस्थायी टहरामा बस्न बाध्य यहाँका भूकम्प प्रभावितहरू टहरा निर्माणको दोस्रो किस्ताको रकम पाउने भएपछि खुसी भएका छन् । आठबिसकोट नगरपालिका –१४, छेपारे गाउँकी भूकम्प प्रभावित लाली विकले बल्लतल्ल टहराको पैसा आउने सुनेपछि केही राहत महसुस भएको बताउनुभयो । 

भूकम्पले घर भत्काएपछि जस्तापाताको टहरामा बस्दै आउनुभएका विकले टहरा बनाउन पनि ऋण सापट गर्नु परेको बताउनुभयो । टहराको खर्च आएपछि अब घर निर्माणको काम पनि हुने उहाँको आशा छ । सानीभेरी गाउँपालिका–२, गिठाकोटकी ज्येष्ठ नागरिक सुशीला बुढाथोकीले टहराकै रकम नपाउँदा नयाँ घर निर्माणमा सरकारले सहयोग गर्ला भन्ने आशा नरहेको बेला दोस्रो किस्ताको रकम पाउने पक्का भएकाले आफूहरू खुसी भएको बताउनुहुन्छ । 

उहाँले टहरामा दिनमा घामले पोल्ने र रातिमा हुने चिसोले गर्दा हातखुट्टा कटकटी खाने र बिरामी हुने गरेको जनाउनुभयो । टहरा बनाउँदा लागेको खर्च आएपछि टहरालाई थप व्यवस्थित बनाउने उहाँको योजना छ । 

२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण घरबास गुमाएमा यहाँका अधिकांश प्रभावित टहरामा बस्न बाध्य छन् । दुई हिउँदयाम, गर्मी र वर्षायाम अस्थायी टहरामै बिताएका यहाँका भूकम्पपीडितका लागि सरकारले अस्थायी आवास निर्माणमा अनुदान दिने भएपछि धमाधम टहरा बनाएर तत्काल आवासको व्यवस्था गरेका थिए ।  

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार ३१ हजार ८८१ जना लाभग्राहीको टहरा निर्माणको दोस्रो किस्ताको रकम निकासा भएको छ । हालसम्म दोस्रो किस्ताका लागि मात्रै ७९ करोड ७० लाख २५ हजार रुपियाँ जिल्लाका सम्बन्धित पालिकामा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । पालिकाहरूले चाँडै नै प्रभावितको खातामा उक्त रकम जम्मा गरिसक्ने बताएका छन् । 

यहाँका भूकम्प प्रभावितहरू पुनर्निर्माणको काम समयमै नभएपछि नयाँ घर निर्माणमा सरकारले गर्ने सहयोगप्रति भने सशङ्कित छन् । आठबिसकोट नगरपालिका–१४ का कर्णबहादुर विकले सरकारले दिउँला भनेर आशा त देखाएको तर दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले घर भत्कायो, भएको जग्गाको टुव्रmामा सडक बन्यो । के खाने, कहाँ बस्ने समस्या छ । दैनिक छाक टार्न मुस्किल भइरहेको बेला घरका लागि लगानी गर्ने आर्थिक अवस्था छैन ।” सरकारले दिएको रकममा आफूले थप गरेर सानो घर बनाउने सोच रहे पनि समयमै पूरा हुन नसक्ने उहाँको भनाइ छ ।