गोरखापत्र अनलाइन
काठमाडौ, फागुन ८ गते । नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अबसरमा कर्णाली एकता समाज काठमाडौले थानकोट मातातीर्थमा आयोजना गरेको जलवायु परिर्वतन बिषयक जनतेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
पछिल्लो पटकमा जलवायु परिर्वतनको असरले कर्णालीबासी मारमा परेको बताउनुभयो । जलवायु परिर्वतनले कर्णालीमा हिउँ पर्न छोडिसक्यो, बाह्रै महिना सेताम्य देखिने हिमाली काला देखिन थालिसके मन्त्री शाहीले भन्नुभयो । जलवायुको असरले कृषि निर्भर किसानहरु बढी असर खेप्नु परेको छ । मन्त्री शाहीका अनुसार जलवायु परिर्वतनले गर्दा कहिले खडेरी कहिले अत्यधिक बर्ष हुँदा कर्णालीको जनजीवनमा असर पुगेको छ ।
हिमपात र बर्षा नहुँदा अन्नबाली फलफुल जडिबुडी उत्पादन ह्रास आउँदा त्यसको प्रत्यक्ष स्थानीयलाई परेको मन्त्रीले भन्नुभयो । जलवायुको असरले कर्णाली क्षेत्रमा पानीका मुहान सुक्दै गएको वन क्षेत्रमा बढी डडेलो लाग्न थालेको उहाँको भनाइ छ । जलवायु परिर्वतनले सीमित मानव जातिलाई मात्र नभर वन्यजन्तु पशुपंक्षि समेतलाई असर परेको मन्त्रीको भनाइ छ ।
जलवायु परिर्वतनको असर न्यूनीकरण गर्न कर्णालीबासी सचेत सजग हुनुपर्ने बेला आएको छ । जलवायुको असर न्यूनिकरण गर्न स्थानीयबासी, युवायुवतीहरु कलाकार बर्गले देउडा गीतमार्फत जनचेतनामुलक अभियान सुरु गर्न मन्त्रीले आग्रह गर्नुभएको छ । कला सांस्कृतिप्रेमीहरु जलवायु परिर्वतनको बिषयलाई उजागर गर्नुपर्ने उहाँले बताउनुभयो ।
बिभिन्न कामको सिलसिलामा काठमाडौमा रहेका कर्णाली क्षेत्रका महिला पुरुष कर्मचारी, युवायुवती र कलाकारलाई कर्णाली एकता समाजले बेला बखत देउडा तथा सांस्कृति कार्यक्रम गरी जमघट गर्दैआएको छ ।