ललित बसेल
सुर्खेत, फागुन ८ गते । सुर्खेतमा मङ्गलबारदेखि सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीमा राउटे युवाले बनाएका काठका सामग्री अन्यका लागि आकर्षणका केन्द्र बनेका छन् । पाँच जना राउेट युवाले आफैँ काठ र हतियार ल्याएर प्रदर्शनीमा करिब दुई घण्टा लगाएर सामग्री बनाए । सामग्री बनाउँदा अवलोकनकर्ताले प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गरेका थिए ।
राउटे युवा सुविन शाही, दीपक शाही, टुनिबगर शाही, बन्दवीर शाही र नवीन शाहीले काठका सामग्री बनाएर प्रदर्शनीमा आफ्नो कला प्रदर्शन गर्नुभएको थियो । राउटे युवा दीपक शाहीले काठका सामग्री बनाउने सिप आफूहरूले जन्मजात नै सिकेको बताउनुभयो । उहाँले राउटेलाई काठका सामान बनाउने सिप कसैले सिकाउनु पर्दैन भन्दै सबै सिप आफैँ सिकेर आएको उल्लेख गर्नुभयो । प्रदर्शन स्थलमा राउटेले काठबाट कोसी, डाडु, पन्यु र पिर्का बनाएका थिए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कर्णालीमा घुमन्ते जीवन बिताउने राउटे समुदायले बनाउने काठका सामग्री पनि ललितकलामा समावेश गरी उनीहरूलाई पनि सम्पदा विकासमा लगाउन खोजिएको बताउनुभयो । उहाँले राउटेहरू पनि कला र सिपका धनी भएको र कर्णालीकै गहना भएकाले ललितकला प्रदर्शनीमा पनि उनीहरूले निर्माण गरेका सामग्री राखिएको उल्लेख गर्नुभयो । नेपाल कमर्सियल आर्टिस्ट सङ्घका उपाध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष सुभाषकुमार शाक्यले राउटे समुदायसँग रहेको काठका सामग्री बनाउने सिप पनि ललितकला हो भन्नुभयो । उहाँले लोपोन्मुख राउटे समुदायले बनाएका काठका सामग्री पनि प्रदर्शनीमा राखिएको र उनीहरूले काठका सामग्री कसरी बनाउँछन् भन्ने प्रत्यक्ष सिप पनि प्रदर्शनीमा प्रदर्शन गरिएको जनाउनुभयो । आगामी दिनमा राउटेका सामग्रीलाई प्रदर्शनीमा राख्ने उहाँको भनाइ छ ।
प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको थियो । प्रतिष्ठानको आयोजना तथा आर्टिस्ट सङ्घको समन्वयमा आगामी शनिबारसम्म प्रदर्शनी हुने छ । मुख्यमन्त्री कँडेलले कर्णाली भौगोलिक रूपमा विकट भए पनि कला, संस्कृति र सम्पदामा धनी भएको बताउनुभयो । उहाँले जग्गा उपलब्ध भएमा प्रदेश सरकारले आगामी दिनमा प्रदर्शन स्थल बनाउने जानकारी दिनुभयो । उहाँले साधन र स्रोतको अभावमा कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्धनमा सोचे जति गर्न नसकिएको उल्लेख गर्नुभयो । साथै कर्णाली प्रदेशमा प्रतिष्ठानको प्रदेश संरचना निर्माणको थालनीसमेत भइरहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानका कुलपति हार्तम्छालीले प्रतिष्ठानको प्रदेश कार्यालय स्थापना गर्न आग्रह गर्दै ललितकलाको विकासलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।