सुजल श्रेष्ठ
प्युठान, फागुन ७ गते । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आउनुभएको छ । गाउँमै गाई फार्म सञ्चालन गर्नुभएका बस्नेतले गाईमा कृत्रिम गर्भाधान गराउने गरेको बताउनुहुन्छ । उहाँले सहज भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको बताउनुभयो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने औषधीसहित प्राविधिकलाई कृत्रिम गर्भाधानसम्वन्धी तालिमका लागि सहयोग गर्ने गरेको छ । जसलेगर्दा जिल्लामा रहेका सबै स्थानीय तहमा कृत्रिम गर्भाधानका लागि किसानलाई सहज रुपमा सेवा प्रवाह हुने गरेको छ ।
खैराकै हिमाल पोख्रेलले पनि आफ्नो व्यावसायिक फार्ममा गाईभैसीको कृत्रिम गर्भाधान गराउने गर्नुभएको छ । उहाँले नियमित रुपमा कृत्रिम गर्भाधान गराउने गरेको बताउनुभयो । “यो विधि सजिलो र कम खर्चिलो पनि छ” उहाँले भन्नुभयो, “प्राविधिकहरु आएर गर्ने भएकाले ढुक्क पनि भइन्छ ।”
जिल्लामा पछिल्लो समय पशुहरुमा कृत्रिम गर्भाधान गराउने किसान उत्प्रेरित भएका छन् । पाँच वर्षदेखि विजुवार टारीमा गाई पाल्दै आउनुभएका लक्ष्मी भण्डारीले कृत्रिम गर्भाधान विधिले व्यवसायमा सहयोग पुगेको बताउनुभयो । “यो विधि सजिलो रहेछ” उहाँले भन्नुभयो, “दोहोरिने सम्भावना कम हुन्छ ।” कृत्रिम गर्भाधानबाट राम्रो बच्चा उत्पादन हुने समेत उहाँले बताउनुभयो ।
प्युठानमा यस वर्ष एक हजार पशुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस चालु आर्थिक वर्षमा उक्त सङ्ख्यामा पशुहरुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य राखेको हो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु चिकित्सक गणेश पुनले गाई, भैसी र बाख्रामा कृत्रिम गर्भाधान गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसका लागि जिल्लाका स्थानीयतहसँग सिफारिस माग गरिएको उहाँले बताउनुभयो । पालिकाबाट सिफारिस प्राप्त भएपछि गाउँ–गाउँमा पुगेर प्राविधिकले कृत्रिम गर्भाधानको सेवा दिने उहाँको भनाइ छ ।
विशेष गरेर प्युठान नगरपालिका, सरुमारानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिकामा पशुहरुमा कृत्रिम गर्भाधानको प्रयोग बढी हुने गरेको छ । सहज विधि भए पनि किसानहरुले सही जानकारी नपाउँदा कृत्रिम गर्भाधान गराउन कम चासो दिने गरेका छन् । “गाउँघरमा राँगो लगाउँदा किसानको चार हजारसम्म खर्च हुँदो रहेछ” डा. पुनले भन्नुभयो, “कृत्रिम गर्भाधान सजिलो पनि भयो र सस्तो पनि भयो ।” जिल्लामा एउटा कृत्रिम गर्भाधानको सरकारी मुल्य ६ सय रुपियाँ तोकेको समेत उहाँले बताउनुभयो । कार्यालयले कृत्रिम गर्भाधानका लागि प्राविधिकलाई तालिम समेत दिने गरेको डाक्टर पुनले जानकारी दिनुभयो । स्वर्गद्वारी नगरपालिकाले बजेट विनियोजन गरेर नियमित रुपमा निःशुल्क कृत्रिम गर्भाधान सेवा दिइरहेको छ ।
व्यावसायिक फार्ममा कृत्रिम गर्भाधान
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका अनुसार जिल्लामा रहेका व्यावसायिक गाई तथा भैसी फार्मले कृत्रिम गर्भाधानमा बढी जोड दिने गरेका छन् । कम खर्चिलो र सजिलो हुने भएकाले फार्ममा रहेका गाई तथा भैसीको कृत्रिम गर्भाधान गर्ने गरिएको छ । जिल्लामा पाँचवटा गाई फार्म र ११ वटा भैसी फार्म रहेका छन् ।
८४ हजार पशुमा कृत्रिमा गर्भाधान
आर्थिक वर्ष २०८०–८१ मा लुम्बिनी प्रदेशभर ८४ हजार ५९७ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । ४३ हजार ४३६ गाई, ३९ हजार ९३४ भैसी र एक हजार २२७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।
रुपन्देहीमा ३१ हजार ७०६, नवलपरासीमा १७ हजार ९६, अर्घाखाँचीमा ६ हजार एक, पाल्पामा तीन हजार ४७३, कपिलवस्तुमा ६ हजार ३७६, बाँकेमा तीन हजार ७९ वटा पशुको कृत्रिम गर्भाधान गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ ।
त्यसैगरी दाङमा चार हजार ३०, गुल्मीमा तीन हजार ८०, बर्दियामा आठ हजार २१२, रोल्पामा ५१९, प्यूठानमा ४९१ र रुकुममा ३४ वटा पशुको कृत्रिम गर्भाधान गरिएको छ ।