• ९ फागुन २०८१, शुक्रबार

राजनीतिक स्थायीत्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह बारबर्दिया नगरपालिकाको प्रशासनिक भवन र बिष्णु धनि बहुप्राविधिक शिक्षालयको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), फागुन ७ गते ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अस्थिर सरकारबाट आजित भएका नेपाली जनतालाई राहत दिनका लागि दुई ठुला दलको सरकार बनेको बताउनुभएको छ ।

सरकार स्थयित्व नभएर सङ्घीय ऐनहरु प्रयाप्त मात्रामा बन्न नसकेका कारणले अहिले तीन तहको सरकार सञ्चालनमा कठिनाई भएको उहाँले बताउनुभयो । बारबर्दिया नगरपालिकाको प्रशासनिक भवन र बिष्णु धनि बहुप्राविधिक शिक्षालयको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

दुई दुई पटक संविधान सभाको निर्वाचन भएर बनाएको देशको संविधानलाई कार्यान्वयनमा लैजानका लागि प्रयाप्त मात्रामा ऐन बनाउन जरुरी रहेको बताउनुुहुँदै उहाँले नेपालमा जनताको चाहना अनुसार नै स्थिर सरकारका लागि दुई ठुला पार्टी मिलेर सरकार सञ्चालन गरिरहेको जानकारी दिनुभयो । यस सरकारले जनताको चाहना अनुसार काम गरिरहेको दाबी गर्नुहुँदै तीनै तहका सरकार सहकार्य गरेर काम गर्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै सङ्घीय सांसद तथा पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले गुलरिया र बारबर्दिया जोड्ने जब्दिघाट पुल भत्कँदा बर्दिया जिल्ला १२ वर्षपछि परेको बताउनुभएको छ ।

विष्णुधनि बहुप्राविधिक शिक्षालय बर्दिया जिल्ला कै एकमात्र सिटिइभिटिको आंगिक बहुप्राविधिक शिक्षालय हो । यो वि.स. २०७६ सालमा स्थापना भई २०८० सालमा सिटिइभिटिको आंगिक शिक्षालय बनेको थियो ।