चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ७ गते । कवि निमेष अविरल (रुकमान थेबे) को कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रमकाबिच कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।
कवि अविरलले पहिलो कृतिका रुपमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । कविता सङ्ग्रहको समीक्षा भने कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ ।
सङ्ग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविताहरु समावेश गरिएका छन् । कुल १७० पृष्ठको पुस्तकभित्र दुई खण्ड छन् भने पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति गरी ८६ वटा कविता छन् ।
कवि तथा लेखक अविरल जिल्लाको सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका बासिन्दा हुनुहुन्छ । शिक्षक पेशामा आबद्ध कवि अविरलले उपलब्ध समयलाई साहित्य साधना अर्थात् सिर्जना लेखनमा उपयोग गरेका कारण कविता सङ्ग्रह तयार पारी प्रकाशन गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा साहित्य क्षेत्रमा आबद्ध स्थानीय साहित्यकार, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।