• ६ वैशाख २०८२, शनिबार

दुई महिनामा १२६ फरार आरोपित पक्राउ

blog

सिराज खान 

नेपालगन्ज, फागुन ६ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गत दुई महिनाको अवधिमा १२६ जना फरार आरोपित पक्राउ गरेको छ । ती अपराधीलाई पुस र माघ महिनामा पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जिल्लामा फरार यस्ता व्यक्ति पक्राउ गर्ने विशेष अभियान चलाइएको जानकारी दिनुभयो ।  गत पुस र माघ महिनामा मात्रै १२६ जना फरार अपराधी पक्राउ गर्न सफल भएको बताउनुभयो । 

उहाँले सो क्रममा लामो समयदेखि हत्या र अन्य ठुला अपराध गरेर अदालतबाट सजाय तोकिए पनि फरार रहेका केही अपराधीलाई समेत पक्राउ गर्न सकिएको बताउनुभयो ।   

जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले अदालतबाट दोषी ठहर भइ फरार रहेका ६१ जना अपराधीलाई माघ महिनामा मात्रै पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाबाट २५ वर्ष ९ महिना २१ दिन कैद असुल हुनुका साथै २० लाख ६ हजार ७२७ रुपियाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही प्रकारले गत पुस महिनामा ६५ जना फरार अपराधीलाई पक्राउ गरिएको थियो । उनीबाट १९ वर्ष ४ महिना २७ दिन कैद असुल हुनुका साथै ५१ लाख ५५ हजार १३ रुपियाँ जरिवाना असुल गरिएको थियो । 

फरार अपराधीलाई पक्राउ गर्न प्रहरीको एक विशेष टोलीनै बनाएर मिसनमा खटाइएको र सो टोलीले उनिहरुको खोजी कार्य निरन्तर गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी आयुशप्रसाद जोशीले बताउनुभयो । 

उहाँले प्रहरीले सबै फरार अपराधीलाई पक्राउ गर्न विशेष योजना बनाएर टोली परिचालन गरेको बताउनुभयो । यसैबिच जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार माघ महिनामा कार्यालयमा १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । ५८ वटा पेन्डिङ मुद्दा पनि फस्र्यौट गरिएको छ । सो अवधीमा ३९४ वटा ठाडो उजुरी पनि प्राप्त भएकोमा ३८७ वटा फस्र्यौट भएका छन् भने बाँकी ७ वटा निवेदन फस्र्यौटको तयारीमा रहेका छन् । 

माघ महिनामै महिला बालबालिकासम्वन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फस्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको र अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।