जानु पाण्डे
कपिलबस्तु, फागुन ६ गते । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल थालेको छ । कार्यालयमा निवेदन दिएका पीडितहरूलाई फलो अप भिजिट गर्न सुरु गरेको छ ।
न्याय प्राप्तिको प्रक्रिया छिटो र सहज बनाउन सहयोग गर्ने र प्रहरीको व्यवहार सेवाग्राहीको अपेक्षा सङ्कलन गरी कार्यान्वयन गर्ने उद्देश्यले निवेदन दर्ता गरेका पीडितलाई घरमाबा टोलमा गई भेटघाटको अभियान सुरु गरिएको छ ।
यो अभियान अन्तर्गत निवेदन दिएका पीडित सेवाग्राहीको अवस्था बुझ्नका लागि प्रहरी टोली स्वयं उनीहरूको घर वा सम्बन्धित स्थानमा पुग्नेछ । यसरी प्रत्यक्ष रूपमा भेटेर जानकारी लिँदा मुद्दा समाधान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।
प्रहरी निरीक्षक सुनारका अनुसार पीडितलाई सहज न्याय दिलाउन लागेका छन् । यो अभियानले प्रहरी–नागरिक सम्बन्ध अझ बलियो बनाउनेछ । पीडितले प्रहरी कार्यालयमा आएर निवेदन दिएपछि उनीहरूको समस्या समाधान भए वा भएन भन्ने बुझ्न आवश्यक देखेर हामीले यो अभियान सुरु गरेका छौं, सुनारले भन्नुभयाे ।
प्रहरी कार्यालयले हालसम्म विभिन्न मुद्दा तथा उजुरीहरूमा फलो अप गर्दै दुई सय बढी पीडित सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गरिसकेको जनाएको छ । पीडितको घरमै गएर अवस्था बुझ्ने, अनुसन्धानको प्रगतिबारे जानकारी दिने र आवश्यक सहयोग प्रदान गर्ने कार्यले प्रहरी प्रशासनप्रति नागरिकको विश्वास बढाउने बुद्धभूमि नगरपालिका ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।