• ६ वैशाख २०८२, शनिबार

ओझेलमा पर्दै दङ्गीशरण दरबार

blog

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौराकोट स्थित दङ्गीशरण दरबार प्रवेश गर्ने गेट । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन ६ गते ।
दाङको सुकौराकोटमा रहेका दङ्गीशरण दरबार आझेलमा पर्दै गएको छ । करिब तीन हजार वर्ष पहिले दाङमा थारू राजाले दङ्गीशरणले राज्य चलाएको एक किम्बदन्ती पाइन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित सुकौराकोटमा रहेको दरबार अहिले अलपत्र अवस्थामा रहेको स्थानीय एवम् थारू अधिकारकर्मी महेश थारूले बताउनुभयो ।

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको दरबारका केही भग्नावशेषहरू अहिले पनि देख्न पाइन्छ । दरबारको दक्षिण तर्फ ठुलठुला तलाउ छन् भने पूर्व तिर एउटा मन्दिर र थारू जातिले परम्परागतदेखि पूजापाठ गर्दै आएको ठन्वा (भुह्यारथान) रहेको छ ।

यस्तै, दरबारभित्र थारू समुदायले प्रयोग गर्दै आएको विभिन्न सामग्रीहरू भेटिने गरेको उहाँलेले बताउनुभयो ।

उहाँको अनुसार दङ्गीशरण दरबारलाई पुरात्व विभागले तीन पटकसम्म उत्खनन गरेको थियो । तर अहिले अलपत्र अवस्थामा छ । त्यस्तै दङ्गीशरण दरबारको संरक्षण र प्रवर्धनका लागि पटक पटक बजेट आउने गरेको सुनिए पनि विकास भने अहिलेसम्म केहि नभएको उहाँले बताउनुभयो ।

थारू अगुवा र थारू नेताहरूकै कारण दङ्गीशरण दरबार ओझेलमा परेको थारूको गुनोसो छ । ‘‘दरबारको विकास र प्रवर्धनका लागि राज्यले सहयोग नगरेको होइन्,’’  उहाँले भन्नुभयो, ‘‘तर दरबारको विकासको नाममा अहिले दरबारको मौलिकता समेत बिगारेका छन् ।’’ दरबारको बिच भागमा भ्यू टावर निर्माण गरेर अहिले दरबारको अस्तित्व मेटने काम भ रहेको उहाँको भनाइ थियो । उहाँले दरबार प्रवेश गर्ने गेट र दङ्गीशरण राजाका शालिक बाहेक अरू कुनै पनि संरचना तथा दरबारको संरक्षणक लागि कुनै पहलकदमी भएको छैन ।

दरबार उत्खनन अलपत्र


स्थानिय अगुवा एवम् थारू अधिकारकर्मी महेश थारूको अनुसार अहिलेसम्म पुरात्व विभावले दङ्गीशरण दरबार तीन पटक उत्खनन गरेका छ । तर उत्खनन गरेर विभागले अलपत्र अवस्थामा छाडेको उहाँले बताउनुभयो । थारूको अनुसार दरबार उत्खनन गर्ने बेला थारू राजा दङ्गीशरणले प्रयोग गर्ने गरेका केही पुराना सिक्काहरू, थारू जातिका पुर्खाहरूले प्रयोग गर्दै आएको विभिन्न प्रकारका माटाका भाडाकुडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाहरूले घाटीमा लगाउँदै आएको मोटीका दानाहरू, हातमा लगाउने लखौटिका चुरा, माटाका विभिन्न किसिमका देवी देवता, सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका इँट्टालगायत भेटिएको थियो ।

दरबारमा संग्रहालय बनाउने अधुरो


त्यसबेला अहिलेको लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानिय अगुवा तथा तत्कालिन संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकुलाल चौधरीलगायत थारू अगुवाहरूले सुकौराकोटमा दङ्गीशरण सङ्ग्रहालय बनाउनका लागि अगाडि सरे । पुरात्व विभागले थारू समुदायको पहिचान झल्काउने उद्देश्यलो दस लाख र तत्कालिन जिल्ला विकास समितिले १३ लाख रुपियाँ अनुदान दिएको थियो । उक्त रकमबाट सङ्ग्रहालय बनाउने भनिए पनि थारू नेताहरूको बिचमा विवाद हुँदा सङ्ग्रहालय पूर्णता पाएन । सङ्ग्रहालयको भवन बनाउनका लागि तत्कालीन संस्कृति मन्त्री मिनेन्द्र रिजालले शिलान्यास पनि गरेका थिए । तर सङ्ग्रहालयको घर बनाउनका लागि शिलान्यासमा सिमित रहयो । दङ्गीशरण दरबार स्थितमा बनाउने भनिएको सङ्ग्रहालयको विषयमा विवाद चर्किदै गए पनि डिल्लीबहादुर चौधरीले दङ्गीशरण ३ चखौरामा सङ्ग्रहालय स्थापना गर्नुभएको छ । जहाँ देशको सबैभन्दा ठुलो सङ्ग्रहालयको रूपमा विकास भएको छ । अहिले राज्यले त्यस सङ्ग्रहालयका लागि राज्यल बर्सेनी करोडौं बजेट विनियोजन गर्दै आएको छ । 

दङ्गीशरणको नाममा गाउँपालिका


दङ्गीशरण दरबारको क्षेत्र तुलसीपुर उपमहानगरपालिका भिर रहे पनि गाउँपालिकाको नाममा भने दङ्गीशरण राखिएको छ । दरबारको सिमानासँग छोएका खोलापारी पश्चिम भेग साविक हेकुली गाविस, साविक श्रीगाउँ गाविस र दक्षिणभेग छोएका बबइपारी साविक गोलटाकुरी गाविसलाई गाभेर दङ्गीशरण गाउँपालिका बनाइएकको छ । उक्त तीन साविक गाविसहरू अहिले दङ्गीशरण गाउँपालिकाको नाममा छ । दङ्गीशरण गाउँपालिकाको पश्चिमतिर बबई गाउँपालिका, पूर्वतिर तुलसीपुर उपमहानगरपालिका, उत्तररित शान्तिनगर गाउँपालिका र दक्षिणतिर पहाडपारि लमही नगरपालिकाको सिमानासँग जोडिएको छ ।

दरबार कसरी पुग्न सकिन्छ

तुलसीपुर बजारदेखि करिब ९ किलो मिटर दक्षिण पश्च्मिमा रहेको दङ्गीशरण दरबार जानका लागि विभिन्न बाटोहरूबाट जान सकिन्छ । तुलसीपुर बजारबाट सिधै दक्षिण मदनआश्रित चोकदेखि पश्चिम विष्णुहल हुँदै सुकौरा रोडबाट गाडीमा करिब आधा घण्टामा पुग्न सकिन्छ । त्यसैगरी तुलसीपुर अमिलिया रोडको सितलपुर चोकबाट पश्चिम हुँदै पनि दङ्गीशरण दरबार पुग्न सकिन्छ ।
यसैगरी दङ्गीशरण गाउँपालिका कार्यालयदेखि करिब ३ किलो मिटर दक्षिणमा रहेको दङ्गीशरण दरबार गाउँपालिका हुदै बैबाङ गाउँको बिचबाट पूर्वतिर लागेपछि एउटा खोला आउछ । उक्त खोलामा रहेको पुल क्रस गर्ने वित्तिकै थोरै अगाडि दङ्गीशरण दरबारमा पुग्न सकिन्छ । 

दङ्गीशरणको समृद्धि र विकास

दङ्गीशरण गाउँपालिकाको नाम एक पर्यटीयक स्थलको नामबाट राखिएको छ । तसर्थ नाम अनुसार यस ठाउँको पर्यटकीयको विकास गर्न अति आवश्यक छ । दङ्गीशरण दरबारको क्षेत्र अर्काे ठाउँ (तुलसीपुर उपहानगरपालिका) मा भए पनि त्यसलाई जोडेर दङ्गीशरण गाउँपालिका भित्र रहेको विभिन्न प्राकृतिक सम्पदा, मठमन्दिर तथा धार्मिक स्थलहरूसँग जोडेर दङ्गीशरण गाउँपालिकालाई पर्यटकीयको हबको रूपमा विकास गर्न सकिन्छ ।

दङ्गीशरणको समृद्धि र समग्र विकासका लागि एउटा ठुलो माध्यम पनि पर्यटकीय क्षेत्र हो । अहिले त्यस गाउँपालिकाको वडा नं. ३ चखौरामा नेपालकै ठुलो थारू सांस्कृतिक सङ्ग्रहालयको रूपमा विकास भएको छ । यी सबै कुरालाई समेटेर गुरु योजना बनाई प्रदेश र सङ्घीय सरकारको सहयोगमा दङ्गीशरण दरबारलाई ऐतिहासिक पर्यटकीयको रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ ।