• २८ फागुन २०८१, बुधबार

मातृशिशु मृत्युदर घटाउन नमुना कार्यक्रम

blog

बुलबुले समाचारदाता

सुर्खेत, फागुन ६ गते । कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन नमुना कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । मातृशिशु मृत्युदर घटाउन समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको छ । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर चुनौती बनेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताउनुभयो । यो वर्ष सेवा र सचेतनाका कार्यक्रम प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले मातृ मृत्यु, शिशु मृत्यु, बाल मृत्यु, नवजात मृत्युलाई न्यूनीकरण गर्न सचेतना, परामर्श, सामाजिक व्यवहार परिवर्तन, पोषण, खोप, उपचार सेवालाई प्रभावकारी बनाउन लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । स्थानीय तहले पनि ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रम ल्याई प्राथमिकतामा राखेका छन् । स्थानीय तहले स्वयंसेविकाहरूलाई थप सेवा सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने लक्ष्यसमेत लिइएको छ ।

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रमलाई सफल बनाउन साझेदार सङ्घ संस्थाको १५ करोड बजेट रहेको छ । सङ्घीय सरकारले पनि करिब १५ करोड हाराहारीमा बजेट विनियोजन गरेको छ । यो कार्यक्रम नयाँ भने होइन । सरकारले बर्सेनि रूपमा कार्यान्वयन गर्दै आएको छ । यो वर्ष सरकारले स्थानीय तहलाई बढी जिम्मेवार बनाउने गरी कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । टोलस्तरसम्म सचेतनाका कार्यक्रम कार्यान्वयन गरिने छ ।

सबैभन्दा धेरै मातृ मृत्युदर

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर १७२ (प्रतिएक लाखमा) रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले काम गरिरहेको दाबी गरिरहेका छन् ।