सिराज खान
नेपालगन्ज, फागुन ६ गते । प्रहरी प्रशासनकै अगाडीबाट अवैध मानिएको भारतीय कुखुरा भित्रिने क्रम बढ्दै गए पनि यसको नियन्त्रण हुन सकेको छैन । विना जाँच भारी मात्रमा भित्रिने यस्ता कुखुराले पक्षीजन्य रोग फैलने खतरा समेत बढ्दै गएको हो ।
स्थानीयहरूले यसरी भित्रने अवैध कुखुरा तत्काल रोक लगाउन माग गरेका छन् । तर प्रशासनले खेलाँची गर्दा समस्या निम्तिन सक्ने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् । कुखुरा व्यवसायी मञ्च बाँकेले भारतबाट हुने गरेको कुखुराको अवैध आयात रोक्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलका अनुसार खुला सिमानाका कारण विभिन्न नाकाबाट अत्यधिक मात्रामा भारतीय बोइलर कुखुरा अवैध रूपमा आयात भइरहेको बताउनुभयो ।
जिल्लाको खुला सीमा नाका जमुनाहा, साईगाउँ, बेलबार, राप्तीपारी नरैनापुर तथा बाँके–बर्दियाको सिमाना नजिकै रहेको सैनिक नाकाबाट ठुलो मात्रामा अवैध कुखुरा भित्रिने गरेको छ ।
प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की र सशस्त्र प्रहरीका जिल्ला प्रमुख शोभाकान्त खनाललाई समेत यसको जानकारी नभए गरे पनि स्थानीयहरूले तत्काल रोक्न माग गर्दे ज्ञापन पत्र बुझाएका हुन् ।
अवैध आयातमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूको समेत मिलेमतो रहने गरेको आरोप छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले अवैध कुखुरा आयात नियन्त्रणका लागि चाँडै सुरक्षा निकायसँग छलफल गरी आवश्यक कदम चाल्ने आश्वासन दिनुभयो ।