काठमाडौँ, फागुन ५ गते । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिनुभएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताउनुभयो । उहाँले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताउनुभयो । उहाँले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने जानकारी दिनुभयो ।
‘‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनै पनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसका लागि मिहिनेत गर्नुपर्छ । कुनै पनि कुरा गर्दा मिहिनेत नगरी सम्भव हुँदैन ।,’’ अभिनेता हमालले भन्नुभयो, ‘‘गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ । यहाँहरू भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरुसँग ऊर्जा, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’’
अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरू गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने जिकिर गर्नुभयो ।