• ८ फागुन २०८१, बिहिबार

युवालाई समाजसँग एकाकार हुन खेलले सघाउ पुग्ने

blog

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह । तस्बिर : रासस

पाटन (ललितपुर), फागुन ४ गते । उपप्रधानमन्त्री तथा  सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा आइतबारदेखि सुरू भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले युवालाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“पढाइमा त ध्यान दिनु पर्‍यो पर्‍यो, समाजलाई पनि योगदान दिनुपर्छ, त्यसका लागि खेलकुदको महत्व छ, यसले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै, तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । विद्यार्थी जीवनमा समग्र व्यक्तित्व विकास र अनुशासनका लागि पनि खेलकुदको धेरै महत्व छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धा अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

उपप्रधानमन्त्री सिंहले खेलकुदमा जित्नु मात्रै ठूलो कुरा नभई प्रतिस्पर्धामा भाग लिनु पनि महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदमा लाग्न प्रोत्साहित गर्नुभयो । रासस