राधा नेपाली
सन्धिखर्क, असार ११ गते । अर्घाखाँचीका छ पालिकामध्ये पाँचवटा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पाँच अर्ब ८७ करोडभन्दा धेरै छ । भूमिकास्थान नगरपालिकाबाहेक अन्य पालिकाले सोमबार र मङ्गलबार बजेट सार्वजनिक गरेका छन् । बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
सन्धिखर्क नगरपालिकाको बजेट एक अर्ब ११ करोड १४ लाख रुपियाँको बजेट ल्याएको छ । शितगंगा नगरपालिकाले ९३ करोड ६७ लाख ५० हजार रुपियाँको बजेट ल्याएको छ भने मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपियाँ छ ।
त्यस्तै, पाणिनि गाउँपालिकाले ७२ करोड २० लाख ७४ हजार पाँच सय रुपियाँको बजेट ल्याएको छ भने छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड नौ लाख ५५ हजार ७० रुपियाँ छ ।
सन्धिखर्क नगरपालिकाले स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्राण्डिङ र प्याकेजिङ गरेर पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ । नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रमअन्तर्गत नवीनतम प्रविधिमार्फत धान, मकै बाली प्रवर्धन गर्न १७ लाख बजेट विनियोजन भएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बजेटबारे प्रतिक्रिया दिँदै भन्नुभयो, “नागरिकलाई गुणस्तरीय सेवा, व्यवसायिक तथा प्राविधिक शिक्षा, आधुनिक कृषि प्रविधि, पूर्वाधारको स्तरोन्नति र आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अगाडि बढाउने लक्ष्य लिएका छौं । नीति, योजना र कार्यान्वयनलाई बलियो बनाएर सबै सरोकारवाला निकायको सहकार्यमा नगरको समृद्धि र दिगो विकास सम्भव छ ।” तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडालगायत हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो ।
मालारानी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले एक करोड ७९ लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ । व्यवसायिक कृषकहरूलाई ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिने भएको छ ।
एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सार्वजनिक बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवर्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफलु, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै खेतबारी बाँझो नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहुवर्षीय रुपमा सञ्चालन गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
त्यस्तै, पाणिनि गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकुद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने उल्लेख छ ।
छत्रदेव गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई प्राथिमकिता दिएको छ । बाँकी रहेका योजना र कार्यक्रमलाई सबै पालिकाले निरन्तरता दिएका छन् । विषेशगरी स्थानीय उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, स्थानीय उद्योगलाई सबै पालिकाले प्राथमिकता दिइएको पाइन्छ । भूमिकास्थान नगरपालिकाले बुधबार बजेट ल्याउने तयारी गरको छ ।