• ११ असार २०८२, बुधबार

बर्दीबास नगरपालिकाको बजेट एक अर्ब २२ करोड

blog

बर्दीबास नगरपालिकाले आयोजना गरेको १६ औँ नगरसभाको उद्घाटन एवम् आय व्यय प्रस्तुत गरिँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, असार ११ गते ।
बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा मङ्गलबार आयोजित १६ औँ  नगरसभामा नगर उपप्रमुख तारादेवी महतोले एक अर्ब २२ करोड ४० लाख १० हजार रुपियाँ अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

यसअघि मधेश प्रदेशका अर्थ मन्त्री सुनिल यादव तथा सभाध्यक्ष एवम् नगरप्रमुख प्रह्लाद क्षेत्रीले पानसमा बत्ती बाली १६ औँ नगरसभाको उद्घाटन गरेपछि उपप्रमुख महतोले बजेट सार्वजनिक गर्नुभएको थियो  ।

यो बजेट चालु आव ०८१/८२ को तुलनामा २.६४ प्रतिशत अर्थात् नौ करोड ४५ लाख  रुपियाँले बढी हो ।

आन्तरिक आयबाट वार्षिक २५ करोड ४० लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा ८७ करोड ४५ लाख, प्रदेश सरकारबाट चार करोड ५३ लाख आय हुने अनुमानित बजेट उपप्रमुख महतोले प्रस्तुत गर्नुभयो ।

नगरपालिकाको कुल विनियोजनमा कार्यालय सञ्चलन व्यवस्थापनका लागि चालु र पुँजीगत गरि २३ करोड ६३ लाख प्रस्ताव गरिएको छ ।

यसैगरी, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषिमा तीन करोड र पशुपंक्षीमा एक करोड गरी चार करोड बजेट विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारले ‘फिड द नेसन’ अभियानलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा बर्दिबास नगरपालिकाले कृषि क्षेत्रका लागि वजेट विनियोजनमा देखाएको उदारतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्वास्थ्य बजेटतर्फ कर्मचारी तलब भत्ता, स्वास्थ्य उपकरण र औषधी खरिदका लागि ६ करोड ३२ लाख बजेट छुट्याइएको छ । सडक कालोपत्रे, ढलान तथा स्तरोन्नति र निर्माणतर्फ पाँच करोड ६ लाख, शिक्षामा दुई करोड ५० लाख तथा युवा खेलकुद विकाशका लागि ४० लाख विनियोजन गरिएको छ ।

पानीको सर्वथा अभाव रहने बर्दिबासमा स्वच्छ खानेपानी आपूर्ति र फोहरमैलाको दिगो व्यवस्थापनका लागि ८५ लाख, आन्तरिक पर्यटन प्रवर्धन गिद्ध संरक्षणमा ४० लाख विनियोजन गरिएको छ । भवन तथा शहरी विकासतर्फ दुई करोड छुट्टाइएको छ ।

महिला एवम् लक्षित वर्गको सशक्तीकरण एवम् लैंगिक समावेशीकरणका लागि एक करोड ७८ लाख विनियोजन गरिएको छ । उर्जा तथा ग्रामीण विद्युतीकरणका लागि ६८ लाख गरिएको छ ।  

वडास्तरीय योजनाहरु सञ्चालन गर्न ११ करोड ५७ लाख तथा चुरे संरक्षण र विपद् व्यवस्थापनतर्फ ८५ लाख विनियोजन गरिएको छ ।