गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । तुलसी भट्टराईद्वारा अनुवादित पुस्तक ‘सात सालको कथा’ लोकार्पण गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेख्नुभएको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो । कोइराला दाजुभाइमध्ये तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरिएको थियो ।
पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताउनुभयो । ‘नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,’ अनुवादक भट्टराईले भन्नुभयो, ‘रेणु र बिपी कोइराला दुवै उदार भावनाले लेख्ने लेखक हुन् । यस पुस्तकले प्रजातन्त्र र स्वतन्त्रताको महत्व बढाउँछ ।’
राजनीतिशास्त्री तथा रेणु अध्येता भास्कर गौतमले ‘सात सालको कथा’ पुस्तक लोकार्पण गर्दै रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताउनुभयो । “रेणुका हरेक सिर्जनामा मानवता र मुक्त अस्तित्व प्रखर रूपमा आएको हुन्छ,” गौतमले भन्नुभयो, “माथि चुरेदेखि तल गङ्गासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रूपमा हेर्ने दलीय–देशीय सोचभन्दा माथि उठेका लेखक हुन् ।”
धेरै पहिले नै छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेको महसुस गरेर आफूहरूले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताउनुभयो । १२० पृष्ठको पुस्तकको मूल्य ३४५ रुपियाँ रहेको छ ।