काठमाडौँ, फागुन ३ गते । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको भए पनि ठुलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्नेखालको नभएको उल्लेख गर्नुभयो । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् ।
वरिष्ठ मौसमविद् मानन्धरले भन्नुभयो, “पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षाको सम्भावना छ । आज देशैभर धुम्म बादल लागिरहेको छ, काठमाडौँमा पनि त्यही अवस्था हो । सुुदूरपश्चिम, कर्णालीमा छिटपुट वर्षा हुने भए पनि कमजोर प्रणाली छ ।”
उहाँले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उहाँले अझै पनि सुक्खा बढाउने बताउनुभयो । उहाँका अनुसार वर्षा गराउने प्रणाली कमजोर छ ।
“मौसम बदली भएसँगै आज पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान–बेलुका चिसो कायम छ । हिउँदको बिचमा एक पटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो”, मौसमविद् मानन्धरले भन्नुभयो ।
अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उहाँले जानकारी दिनुभयो । “जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ” उहाँले भन्नुभयो । रासस