• २० चैत २०८१, बुधबार

पञ्चेश्वरको डिपिआर चाँडो सक्ने सहमति

blog

काठमाडौँ, फागुन २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबिच भेटवार्ता भएको छ ।

इन्डिया इनर्जी विक–२०२५ मा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको हो । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धि अनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्ने छन् ।

यसै गरी सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुईपक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गर्नुभयो ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । 

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत तथा भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो ।