• ९ फागुन २०८१, शुक्रबार

आगलागीको चपेटामा पनि महिला

blog

काठमाडौँ, फागुन २ गते  । हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने भएकाले उनीहरू नै जलनमा बढी पर्ने गरेको पाइएको छ ।

मङ्गलबारदेखि बुधबारसम्म २४ घण्टामा मात्र तीन जनाको ज्यान आगोले लियो, जसमा दुई जना महिला छन् । सोलुखुम्बु नेचासल्यान गाउँपालिका–४ मा गाईवस्तुलाई खोले पकाउने क्रममा ८० वर्षीया महिलाको फरियामा आगो सल्कियो । फरियाको आगो शरीरभरि सल्किएर घाइते भएपछि मिसन अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा उहाँको ज्यान गयो । तुल्सीपुर–१९, दाङकी ६४ वर्षीया महिलाले घरमा खाना पकाउने क्रममा लत्रिएको कपडामा चुलोको आगो सल्किएर शरीरभरि फैलियो । उहाँको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । गुल्मीमा आगो ताप्ने क्रममा एक जना पुरुषको मृत्यु भएको थियो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले घरेलु काममा महिला बढी सामेल हुने भएकाले असावधानीवश आगोले बढी महिलाको ज्यान लिने गरेको प्रस्ट्याउनुभयो । 

उहाँले भन्नुभयो, “महिलाहरू बढी आगो नजिकका काममा घुलमिल हुन्छन्, अनि ज्यान जानेमा पनि महिलाको सङ्ख्या बढी हुने गरेको छ ।” उहाँका अनुसार महिलाको ज्यान बढी जसो उनीहरूले लगाउने पहिरनका कारण पनि जाने गरेको छ । हिउँदको समयमा तराई भेगमा बढी घुर ताप्ने तथा पहाडमा दाउराको आगो ताप्ने चलन छ । सहरका घरभित्र हिटर, ब्रिकेट, मकल तापिन्छ । तराईमा अधिकांश महिलाले प्रायः सारी लगाउने चलन छ । पहाडमा महिलाले घर बस्दा सारी, लुङ्गी, म्याक्सी, पछ्यौरालगायतका खुकुला कपडा लगाउने गर्छन् । सहरमा पनि घर बस्दा प्रायः महिलाले खुकुला र लत्रिने कपडा जाडो महिनामा प्रयोग गर्छन्, जुन आगो लाग्दा सबैभन्दा पहिले जल्छ । त्यसपछि महिलाको ज्यानसमेत जाने गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । भट्टराईले थप्नुभयो, “घुर र दाउराको आगो ताप्दा पछाडि फर्केर (डाढ सेकाएर) ताप्छन्, आगो सल्केपछि महिलाको जनेन्द्रियसहितमा छिटो आगोले डढाउँछ र मृत्यु हुने गर्छ ।” आगो ताप्दा, खाना पकाउँदा वा अन्य घरायसी काम गर्दा महिलाहरू आगोसँग बढी खेल्ने भएकाले सावधानी अपनाउनु पर्छ । घरपरिवारले पनि त्यस्तोमा ध्यान नदिँदा महिलाको ज्यान जाने गरेको उहाँ बताउनुहुन्छ । प्राधिकरणका अनुसार हरेक वर्ष एक सय जनाको हाराहारीमा आगोले मानिसको ज्यान लिने गरेको छ, जसमध्ये महिलाको सङ्ख्या उच्च रहने गरेको छ । 

यो वर्षको हिउँद सुरु भएयता कात्तिक १ गतेदेखि माघ ३० गतेसम्म आगलागीले ३२ जनाको ज्यान लिएको छ, जसमध्ये २० जना महिला र १२ जना पुरुष छन् । आगो लगेर घाइते भएका २१८ जनामा १३९ जना महिला रहेको प्राधिकरणका स्रोत व्यक्ति दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

प्राधिकरणले सङ्घीय संरचना अनुसार आगलागीबाट जोगिने उपायसहितका प्रचार सामग्री बनाएर सचेतना फैलाउने गरेको छ । स्थानीय घर गाउँमा नगरपालिका तथा गाउँपालिका बढी जिम्मेवार हुनुपर्नेमा नभएको पाइएको प्राधिकरणले औँल्याएको छ । एक जना महिलाको ज्यान जानु भनेको घरको समग्र संरचनामा दीर्घकालीन असर पर्नु हो । यस हिसाबले पनि महिलाको ज्यानको सुरक्षा गर्ने उपायसहितका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्राधिकरणले दिएको छ । 

स्थानीय तहमा रहेका उपभोक्ता समिति, आमा समुदाय, युवा समूह, गैरसरकारी संस्थाहरूले आगलागीबाट महिला जोगाउने कार्यक्रममा जोड दिनुपर्ने प्रवक्ता भट्टराई बताउनुहुन्छ । पछिल्लो समय वनमा लाग्ने डढेलोमा पनि महिला हेरालुहरूको संलग्नता बढेको छ, जसका कारण उनीहरूको ज्यान पनि उच्च जोखिममा रहेको पाइएको छ । आवश्यक उपकरणको अभावमा डढेलोको आगो निभाउन जाँदा महिला हेरालुको ज्यान जोखिममा पर्ने गरेको प्राधिकरणले औँल्याएको छ ।