• २८ असोज २०८२, मङ्गलबार

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ...

blog

साङ्केतिक चित्र ।

 चितवन, असोज २८ गते । कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । 

घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । 

घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्काभेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । 

खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।”

“मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घर अगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”,  घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो,  “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर ! भन्ने सम्झेँ । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताउनुभयो । 

भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो ।

 घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन् भन्ने एकिन भएको खतिवडाले बताउनुभयो । 

राति नै प्रहरीलाई खबर गरी घटनाकाे विवरण सुनाएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तुसमेत बोकेको देखेको खतिवडाले बताउनुभयो । 

उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्काबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार  छन् । रासस