काठमाडौं, फागुन १ गते। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबिच तरुणसँग शिक्षा नीति बहस गरेको हो।
प्रमुख अतिथि एवं सहमहान्त्री डिना उपाध्यायले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले बहसलाई तिव्रता दिएको बताउनुभयो। उहाँले शिक्षा विभागले बहसलाई तिव्रता दिनु निकै स्वागत योग्य रहेको र यसमा पार्टीको पूर्ण साथ रहने प्रतिवद्धता जनाउनुभएको छ।
यस्तै शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई जीवनोपयोगी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिक्षा समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिम, प्रदेश सांसद सीता खड्की र रामकुमार पहाडी, नेपाल तरुण दल केन्द्रीय समिति, विभिन्न जिल्लाका अध्यक्ष, नेपाल विद्यार्थी संघ, महिला संघलगायत कांग्रेसका विभिन्न भ्रातृ संस्थाका २५ जना प्रतिनिधिले आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो।