• १ फागुन २०८१, बिहिबार

मौसम परिवर्तनका कारण पर्ने प्रभाव कम गर्न रेडियोसँग सहकार्य बढाउने

blog

छलफलमा सहभागी सरोकारवाला ।

ललितपुर, फागुन १ गते। मौसममा भएको परिवर्तनका कारण पर्ने प्रभाव कम गर्नका लागि सरोकारवाला निकायले रेडियोसँगको सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्। १४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न निकायसँगको सहकार्यमा आज ललितपुरमा गरेको विशेष कार्यक्रममा उनीहरूले रेडियो अझैँ पनि सूचनाको भरपर्दो माध्यम भएको बताएका हुन्। 

दिवसको अवसरमा गरिएको ‘नागरिक सहभागिता र सञ्चार’, ‘मौसमको प्रभावकारी सूचना प्रवाहमा सञ्चारमाध्यम’, ‘विपद् पूर्व सूचना र प्रतिकार्यमा सञ्चार माध्यम’ विषयक छलफल गरिएको छ।  

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ७ सय ५३ वटै पालिकासम्म मौसम पूर्वानुमानको सूचना पुर्‍याउने व्यवस्था गरेको जानकारी दिँदै सूचनाको यो अभियानमा नेपालका सामुदायिक रेडियोसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। 

क्षति न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भिष्मकुमार भुसालले विपद्को पूर्व तयारी र सामना गर्नका लागि नेपालका सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो। आगामी दिनमा विपद्को पूर्व तयारीका लागि सञ्चारमाध्यमसँगको सहकार्य बढाउने प्रतिबद्धता जनाउँदै उहाँले मौसम पूर्वानुमान अझ भरपर्दो बनाउनका लागि सरोकारवाला निकायबीच अझ प्रभावकारी समन्वय आवश्यक भएको औँल्याउनुभयो। 

कार्यक्रममा जलवायु तथा विपद् विज्ञ डा. धरमराज उप्रेतीले कति पानी कहाँ पर्छ भन्ने पूर्वानुमान हिजोआज भरपर्दाे भएको उल्लेख गर्दै सामुदायिक रेडियोले आधिकारिक सूचना प्रवाहका लागि सजगता अपनाउनुपर्ने सुझाव दिनुभयो। स्थानीय सरकारलाई बेलाबेलामा सामुदायिक रेडियोले झकझक्याउने हो भने विपद् पूर्वको योजना बनाउन र कार्यान्वयनका लागि उनीहरूलाई दबाब पुग्ने उहाँको भनाइ थियो। 


संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले हावापानीमा आएको परिवर्तनका कारण परेको प्रभाव कम गर्ने गरी काम थाल्न सरोकारवाला निकायलाई निर्देशन दिँदै आएको सम्झँदै आगामी दिनमा सरकारलाई आवश्यक ऐन्, कानुन निर्माणका लागि ताकेता गर्ने प्रतिबद्धता जनाउनुभयो। ६२ प्रतिशत जनता कृषिमा अनि त्यसमा पनि प्रकृतिमा आश्रित भएको उल्लेख गर्दै सूचना समाजमा पुर्‍याउनका लागि समाजमा रहेका विभिन्न प्रथा, अभ्यासलाई पनि उपयोग गर्नुपर्ने बताउनुभयो। 

सरकारको ध्यान रासायनिक मल आयतमा मात्रै गएको देखिएको उल्लेख गर्दै उहाँले देशभित्रैको पातपतिङ्गरलाई व्यवस्थापन गरि प्राङ्गारिक मल बनाउने बारेमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो।