• १ फागुन २०८१, बिहिबार

कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट

blog

बेसीसहर नगरपालिकाको कार्यालय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १ गते । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेसीसहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो । 

जिल्लाका आठवटा स्थानीय तहमध्ये बेसीसहर नगरपालिकाले ७४ दशमलव ७ प्रतिशत अङ्क प्राप्तगरी पहिलो स्थानमा रहेको छ । मस्र्याङ्दी गाउँपालिका ७२ दशमलव ३ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो स्थानमा छ । यस्तै, सुन्दरबजार नगरपालिकाले ६९ दशमलव १ अङ्क प्राप्तगरी तृतीय स्थान बनाउन सफल भएको छ ।

यसैगरी, राइनास नगरपालिकाले ६८ दशमलव १, मध्यनेपाल नगरपालिकाले ६४ दशमलव ७, क्व्होँलासोँथर गाउँपालिकाले ५८, दोर्दी गाउँपालिकाले ५४ दशमलव १ र दुधपोखरी गाउँपालिकाले ५१ दशमलव ९ प्रतिशत अङ्क पाएका छन् । 

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।

‘‘सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं” बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “समन्वय, पूर्वाधार, न्यायिक कामहरु राम्रै छन् । नीति, नियम, कानुन बमोजिमकै कामहरु गरिरहेका छौं । अझै राम्रो गर्ने प्रयास गछौं ।”

मस्र्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले गाउँपालिकाले कार्य सम्पादनका सूचकहरुमा राम्रो गर्दै गइरहेको बताउनुभयो । उहाँले अघिल्ला बर्षको तुलनामा यस पटक राम्रो नतिजा आएकोमा खुसी ब्यक्त गर्नुभयो ।