• १ फागुन २०८१, बिहिबार

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

वासिङ्टन, फागुन १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबिच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गर्नुभएको छ ।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताउनुभयो ।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहनुभएका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबिचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गर्नुभयो ।

“हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भन्नुभयो ।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताउनुभयो । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

क्रेमलिनले फोन वार्ता डेढ घण्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गर्नुभएको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिनुभएको बताइएको छ ।

जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गर्नुभएको थियो ।

शान्तिको चाहना

यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुसरयुक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पार्नुभयो ।

अमेरिकी राष्ट्रपतिले उहाँहरू ‘एक–अर्काको राष्ट्रको भ्रमण सहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताउनुभयो ।

ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्नुभयो । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल हुनुहुन्थेन ।
जेलेन्स्कीले पछि उहाँको ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताउनुभयो । फोन वार्तामा ट्रम्पले पुटिनसँगको वार्ताको ‘विवरणहरू साझा गर्नुभएको’ उहाँले बताउनुभयो ।

कुराकानी पछि ट्रम्पले भन्नुभयो, “जेलेन्स्की राष्ट्रपति पुटिन जस्तै, शान्ति चाहनुहुन्छ ।”

किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताउनुभयो ।

“टोलीहरूले दैनिक कामको प्रक्रिया सुरु गर्नेछन् र जेलेन्स्की र उहाँका अधिकारीहरूले एक दिनपछि म्युनिख सुरक्षा सम्मेलनमा संलग्न अमेरिकी अधिकारीहरूसँग भेट्नेछन्”, येर्माकले भन्नुभयो ।

तर पुटिनसँगको ट्रम्पको फोन वार्ताले संयुक्त राज्य अमेरिकाले रुसका सर्तहरूमा सहमत भएको चिन्ता बढाएको छ ।

पेन्टागन प्रमुख पिट हेग्सेथले बुधबार युरोपेली समकक्षीहरूसँग युक्रेनको सन् २०१४ पूर्वको सीमामा फर्कने सपना ‘भ्रमपूर्ण लक्ष्य’ हो र किएभको नाटो सदस्यताको चाहना ‘यथार्थवादी छैन’ भन्नुभयो । दुवै मस्कोका प्रमुख माग हुन् ।

ट्रम्पले जेलेन्स्कीलाई बाहिर राखिएको अस्वीकार गर्नुभयो र हेग्सेथको टिप्पणीले वासिङ्टन रुसको पूर्वसर्तहरूमा सहमत भएको भन्ने आलोचनालाई अस्वीकार गर्नुभयो ।

यसैबिच येर्माकले युक्रेनको ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सार्वभौमिकता’ मा सम्झौता गर्न नसकिने किएभको अडान दोहोर्‍याउनुभयो ।

युक्रेनी नेताले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहनुभएको छ ।

यसैबिच ट्रम्पले सैन्य सहायता जारी राख्नका लागि किएभको दुर्लभ पृथ्वी खनिजको सट्टामा सम्झौताको सुझाव दिनुभएको छ ।

मूल कारण

जेलेन्स्कीले बुधबार किएभमा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टसँग भेट गरेपछि शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई भेट्नुहुनेछ । ट्रम्पसँगको फोन वार्ताबारे क्रेमलिनको वक्तव्य अधिक संयमित थियो ।

शान्ति वार्ताको माध्यमबाट दीर्घकालीन समाधानमा पुग्न सकिन्छ भन्ने कुरामा पुटिन ट्रम्पसँग सहमत हुनुभएको तर उहाँले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न चाहेको बताउनुभएको क्रेमलिनको वक्तव्यमा उल्लेख छ । मूल कारणका लागि रुसले किएभमा पश्चिमी प्रभावलाई दोष दिएको छ ।

यसै हप्ता एक कैदी आदान–प्रदान सम्झौतामा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका थिए । यसमा मस्कोले अमेरिकी शिक्षक मार्क फोगेल र बेलारुसले एक अमेरिकी नागरिकलाई रिहा गरे भने वासिङ्टनले रुसी क्रिप्टोकरेन्सी किङपिन अलेक्जान्डर भिन्निकलाई रिहा गर्‍यो ।

ट्रम्पले यसअघि पनि पुटिनका लागि प्रशंसा व्यक्त गरिसक्नुभएको छ र आफ्नो ट्रुथ सोसल पोस्टमा रुसी राष्ट्रपतिको प्रशंसा गर्नुभएको छ । उहाँले ‘पुटिनले मेरो धेरै बलियो अभियानको आदर्श वाक्य, ‘सामान्य सेन्स’ पनि प्रयोग गर्नुभयो भन्दै फोगेलको रिहाइका लागि उहाँलाई धन्यवाद दिनुभयो ।

तथापि सम्भावित सम्झौताको स्वरूपबारे किएभ र युरोपेली राजधानीहरूमा चिन्ता बढ्दै गएको छ ।

फ्रान्स, जर्मनी र स्पेनका विदेशमन्त्रीहरूले बुधबार किएभ र यसका युरोपेली साझेदारहरूको संलग्नता बिना ‘कुनै न्यायोचित र दीर्घकालीन शान्ति’ हुन नसक्नेमा जोड दिनुभयो । रासस/एएफपी