काठमाडौं, फागुन १ गते।दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा ब्राइट होराइन चिल्ड्रेन होम, मातातीर्थ र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा सम्पन्न क्वार्टरफाइनलका दुई खेलमा विजयी टिम ब्राइट होराइन र सैनिक महाविद्यालय सेमिफाइनल प्रवेश गरेका हुन्।
पहिलो खेलमा ब्राइट होराइन र ग्रिन भिलेज एजुकेशन स्कुल, कीर्तिपुरले १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो।टाइब्रेकरमा ब्राइट होराइनले ग्रिन भिलेजलाई ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
बिहीबारको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले जनसेवा सेकेण्डरी स्कुल, कीर्तिपुरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।सैनिक महाविद्यालयका लागि इसान तामाङ, सफल थापा र रोजित खत्रीले १–१ गोल गर्नुभयो।
पहिलो खेलका प्लेयर अफ द म्याच ब्राइट होराइनका सन्देश महतरा र दोस्रो खेलका प्लेयर अफ द म्याच बन्नुभएका सैनिक महाविद्यालयका सुदीप देवकोटालाई आयोजक नेपाल एपिएफ स्कुलका प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गर्नुभयो।
क्वार्टरफाइनल अन्तर्गत शुक्रबार पहिलो खेलमा नेपाल एपिएपल स्कुल, कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा भिड्दैछन् भने दोस्रो खेलमा नेपाल एपिएफल स्कुल, कीर्तिपुर ‘ए’ र नेपाल एपिएल स्कुल, कोहलपुरले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।