• ३० फागुन २०८१, शुक्रबार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

blog

गर्भवती बिस्ना सार्कीलाई हेलिकोप्टरबाट उद्धार गरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, माघ ३० गते । कालीकोटको रासकोट नगरपालिका–६ का धने सार्की सोमबार दिनभरि निकै तनावमा देखिनुभएको थियो । अस्पतालमा आफ्नी ४० वर्षीय गर्भवती श्रीमती सुत्केरी हुन सकेर छटपटाइरहेका बेला उहाँ घडी वडा कार्यलय त घडी अस्पतालको प्रसूति कक्ष धाइरहनुभयो । अन्त्यमा स्वास्थ्यकर्मीले यहाँ सुत्केरी गराउन नसक्ने भनेपछि धनेलाई थप पीडा भयो । निकै भावुक हुँदै श्रीमतीको ज्यान जोगाइदिन उहाँले सबैसँग बिन्ती गरिरहनुभयो । 

अस्पताल र सरकारको पहलमा धनेको श्रीमतीको हेलिकोप्टरबाट प्रदेश अस्पतालबाट उद्धार गरेपछि उहाँ खुसी देखिनुभएको छ । दुई दिनदेखि रासकोट अस्पतालमा सुत्केरीका लागि भर्ना भए पनि धने सार्कीकी श्रीमती बिस्ना सार्कीलाई असहज भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत हेलिकोप्टरको व्यवस्थापन भएपछि ग्रामीण र दुर्गम क्षेत्रका विपन्न महिलाको ज्यान जोगिएको हो । 

जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अपरेटर उज्ज्वल शाहीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले तत्काल सिफारिस गरेपछि हेलिकोप्टर आएको र गर्भवती महिलाको उद्धार भएको बताउनुभयो । तत्काल हेलिकोप्टर आएपछि उहाँको ज्यान जोगिएको छ । श्रीमतीको उद्धारपछि धने सार्कीको पीडा पनि कम भएको छ । उहाँले तत्काल उद्धार नभएको भए ज्यान जोगाउन गाह्रो हुने बताउनुभयो ।  

श्रीमतीका साथमा जेठी छोरी सुर्खेतस्थित प्रदेश अस्पताल गएकी छन् । आफूले साना अरू बच्चाको हेरविचार गरेको भन्दै उहाँले सरकारले थालेको हवाई उद्धार कार्यक्रम दुर्गम र कर्णाली क्षेत्रका लागि निकै प्रभावकारी भएको बताउनुभयो । यस कार्यक्रमले दुर्गममा जोखिममा रहेका गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ ।