ललित बसेल
सुर्खेत, माघ ३० गते । सुर्खेतका एक सयभन्दा बढी युवकयुवती लोप हुन लागेको कला संस्कृतिको संरक्षणमा जुटेका छन् । सुर्खेतका पुराना बाजा, भाका, लयका गीत तथा नृत्यलाई युवाले सिकेर विभिन्न कार्यक्रममा प्रस्तुत गर्दै संस्कृति संरक्षणमा जुटेका हुन् । लोप हुन थालेका कला संस्कृतिकारे युवालाई सिकाउने र संरक्षणमा सघाउने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ४, ८ र ११ का १२० जना युवकयुवतीलाई लोपोन्मुख कला संस्कृतिबारे सिकाउने र कम्प्युटरको ज्ञानसमेत दिइएको छ ।
सुर्खेतस्थित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारले ती युवालाई करिब डेढ महिना नृत्य तथा सङ्गीत सिकाउने काम गरेको थियो । वीरेन्द्रनगर नगरपालिका–४ की कक्षा ९ मा अध्ययनरत रेश्मा जैसीले लोप हुने अवस्थामा रहेका संस्कृति सिकेर विभिन्न कार्यक्रममा प्रदर्शन गरिएको बताउनुभयो । आफूले मारुनी र झ्याउरे नृत्य बढी मन पर्ने र त्यही सिकेको बताउनुभयो । नयाँ संस्कृति राम्रो भए पनि आफूलाई पुरानै संस्कृति बढी मन पर्ने भएकाले आफूले सिकेर विभिन्न कार्यक्रममा प्रदर्शन गरेको उहाँको भनाइ छ । नयाँ पुस्तालाई पुराना कला संस्कृति थाहा नभएकाले सबैले सिकाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै वीरेन्द्रनगर–१ का सानु परियारले पनि लोपोन्मुख संस्कृति सिक्न पाएकोमा खुसी व्यक्त गर्दै परियोजनाले कलामा लाग्न प्रेरित गरेको जनाउनुभयो । उहाँले नृत्यसँगै कम्प्युटर सिकेर सम्पादन गर्न पनि सिकेको जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र मन्दिरले युवालाई लोपोन्मुख संस्कृति सिकाउन पाउँदा आनन्द लागेको बताउनुभयो । उहाँले पछिल्लो समय पुराना संस्कृति लोप हुन थालेको भन्दै यसलाई विकास साझेदारका साथै स्थानीय तहले पनि संरक्षण गर्न पहल गर्नुपर्ने बताउनुभयो । केही युवाले पुराना कला संस्कृति सिक्न खोजेको र केहीले नयाँ आधुनिक संस्कृति खोजेको भन्दै तर स्थानीय सरकारले लोप हुने अवस्थामा रहेका कला संस्कृतिलाई जोगाउन प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटाले कला संस्कृतिको जगेर्नामा वडा र नगरपालिकाले ध्यान दिएको जिकिर गर्नुभयो । उहाँले युवापुस्तालाई कला संस्कृतिबारे जानकारी दिई संरक्षणमा टेवा दिनु उत्तम भएको बताउनुभयो । उहाँले आगामी वर्षदेखि वडामा लोपोन्मुख कला संस्कृति जोगाउन बजेट छुट्याई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले युवा अवस्थाबाटै संस्कृति जोगाउन लाग्नु अरूका लागि प्रेरणा भएको बताउनुभयो । उहाँले कुलतमा फस्न सक्ने युवालाई कला संस्कृतिमा लगाएर योग्य बनाउन खोजिएको प्रति सराहना व्यक्त गर्दै यस्ता काममा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अक्सफामको सहयोगमा युवालय र वाइजी इन्टरटेनमेन्टले सञ्चालन गरेको ‘युवासँग हाम्रो’ सहायात्रा परियोजनाको दुई बर्से कार्यक्रमबाट युवालाई लोप हुन थालेका संस्कृति संरक्षण गर्न अग्रसर गराइएको थियो । परियोजनाका मिडिया अफिसर सिर्जना बुढाथोकीले सुर्खेतसहित दैलेख र कैलालीका चार वटा पालिकाका दुई सयभन्दा बढी युवालाई कला संस्कृति जोगाउन प्रेरित गरिएको बताउनुभयो । हराउन र बिर्सन थालेका संस्कृतिलाई जगेर्ना गर्दै युवालाई सिकाउनु परियोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ । नयाँ पुस्ताले पनि पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्ने भावना विकास गराउने प्रयास भइरहेको उहाँको भनाइ छ ।