• १२ फागुन २०८१, सोमबार

संस्कृति झल्काउने सिलाम साक्मा

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, माघ ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ । गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्धनात्मक प्रचार गरेको हो ।

लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात् सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यसको प्रवर्धनमा जोड दिएको छ । मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा गएको आइतबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विशाल आकारको सिलाम साक्माको प्रतिमा निर्माण गरिएको छ । वर्गाकार अर्थात् उचाइ ५४ फिट र चौडाइ ५४ फिट भएको विशाल आकारसहित विभिन्न आकारका सिलाम साक्मा निर्माण प्रदर्शन र प्रचार गरिएको छ । 

प्रतियोगिताको उद्घाटनमा हजारौँ मानिसको सहभागिता रहेको र उक्त सहभागिताबिच प्रदर्शन गरिएको सिलाम साक्माले सांस्कृतिक पहिचानको प्रवर्धनमा टेवा पुर्‍याएको विश्वास गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले लिनुभएको छ । सिलाम साक्मा विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन लोगो (प्रतीक) का रूपमा प्रयोग गर्ने गर्छन् । लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्छन् । लिम्बू थाक्थुङ मुन्धुम अनुसार सिलाम साक्माले दिवङ्गतको आत्माको विचार र बाटो छेक्ने गर्दछ । 

यस्तै जीवित रहनेको दिनचर्या सुखमयसाथ बित्ने, स्वस्थ, स्फूर्ति र उच्च मनोबलसहित सकारात्मक ऊर्जा बढाउनमा सिलाम साक्माले शक्त प्रदान गर्ने भन्ने जनविश्वास पनि रहिआएको छ । सोही जनविश्वासका कारण पछिल्लो समय लिम्बू तथा अन्य जातिसमेतले बाँसको सिन्का र धागो साथै विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।