काठमाडौँ, माघ २७ गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन्। नेपाल एपिएफ स्कुल कीर्तिपुरमा भएका दुवै खेलमा आयोजिक नेपाल एपिएफ स्कुल, कीर्तिपुर र पुलिस स्कुल, साँगा विजयी भएका छन्।
पहिलो खेलमा नेपाल पुलिस स्कुल साँगाले न्यु होराइजन एकेडेमी काठमाडौँलाई ८–० ले हराएको छ। खेलमा नेपाल पुलिस साँगा टिमका लागि मेस्सी वीरविक्रम शाह र सिवन पराजुलीले ३–३ गोल गर्नुभयो । युकेश लामा र दिप्सन पाण्डेले १–१ गोल थप्नुभयो। उक्त खेलमा शाह प्लेअर अफ द म्याच बन्नुभयो।
दोस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरले राई स्कुल नक्साललाई ७–० गोल अन्तरले हराएको छ। राई स्कुलविरुद्ध एपिएफका विकास बोहोराले ४ गोल गर्नुभयो। एपिएफ कीर्तिपुरका लागि थप २ गोल विनय खाम्चाले गर्दा अमन भगतले एक गोल थप्नुभयो। उक्त खेलमा एपिएफ कीर्तिपुरका दिपेश गुरुङ प्लेयर अफ द म्याच बन्नुभयो।
दुवै खेलका प्लेयर अफ द म्याच बनेका खेलाडीलाई एपिएफ स्कुल, कीर्तिपुरका प्रधानाचार्य युवराज पराजुली र सहायक प्रधानाचार्य राजकुमार प्याकुरेलले ट्रफी प्रदान गर्नुभयो।
प्रतियोगिता अन्तर्गत सोमबारदेखि क्वाटरफाइनलका दुई खेल हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेसन फाउन्डेसन र ग्रिन भिलेज सेकेन्डरी स्कुल, कीर्तिपुर भिड्दैछन् भने दोस्रो खेलमा नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘बी’ र लेबोरेटरी माध्यमिक विद्यालय भिड्नेछन्।
प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।