गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशबारे चिन्ता गर्नु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै उहाँले देशप्रति अपेक्षा हुनेले नै चिन्ता र प्रतिक्रिया व्यक्त गर्ने बताउनुभयो ।
देश पछाडि परेकोमा चिन्ता गर्नु स्वाभाविक भएको बताउँदै पोखरेलले देश पछि पर्दा पनि चिन्ता नगर्ने व्यक्ति राष्ट्रभक्त हुन नसक्ने उल्लेख गर्नुभयो । नेपालमा समाज निर्माण र विकासको क्र|म नै पछि सुरु भएकाले लोकतन्त्र, आर्थिक, सामाजिक समृद्धिको यात्रा पनि निकै पछि सुरु भएको उहाँले बताउनुभयो ।
नेपालले लामो समय निरङ्कुश शासनव्यवस्था बेहोर्नु परेका कारण पनि देशको विकासले गति लिन नसकेको उहाँले बताउनुभयो । उहाँले लोकतन्त्रमा केही भएन भन्नेलाई राजाको शासनकाल र लोकतन्त्रमा भएको कामलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले मुलुक लगातार सङ्कटमा परेपछि एमाले र कांग्रेसले सातबुँदे सहमति गरेर देशलाई अघि बढाएको बताउनुभयो । अहिले देशका हरेक क्षेत्र सुधारको गतिमा अघि बढेको दाबी उहाँले गर्नुभयो । राष्ट्र बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रविरोधी शक्ति एमालेविरुद्ध लागेको महासचिव पोखरेलले बताउनुभयो ।