• ६ वैशाख २०८२, शनिबार

निजामती कर्मचारी युनियन सोलुको अध्यक्षमा ढुङ्गाना

blog

सन्तोष राउत

सोलुखुम्बु, माघ २७ गते । नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको खुला उपाध्यक्षमा भीमप्रसाद भट्टराई, महिला उपाध्यक्षमा गायत्रा शर्मा, समावेशी उपाध्यक्षमा तेजबहादुर कटुवाल र सचिवमा जीवन पाण्डे चयन हुनुभएको छ । समितिको सहसचिवमा निशान बस्नेत र कोषाध्यक्षमा भक्तिविलास पोख्रेलसहित कार्यसमिति निर्वाचित गरिएको हो ।

त्यस्तै, केन्द्रीय प्रतिनिधिको लागि दिनेशकुमार राई, चेतनाथ कट्टेल र ध्रुवधन राई निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा भने कमला तामाङ, उमेशकुमार महतो र भीमबहादुर बस्नेत चयन हुनुभएको छ ।

सदरमुकाम सल्लेरीमा आयोजित अधिवेशनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले कर्मचारी देशको स्थायी सरकार भएकाले देशलाई कुन दिशामा लैजाने भन्ने कुरा कर्मचारीको हातमा हुने बताउनुभयो । कर्मचारीको राम्रो कार्य सम्पादनले मात्रै जनप्रतिनिधि सफल हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य गान्धीमाया तामाङ, सोलुदुधकुण्ड नगरपालिकाका नगर सभापति सोनामग्याल्जेन शेर्पा, पूर्व सभापति दावागेलु पाख्रिन, नगर प्रवक्ता पुर्वाग्याल्जेन शेर्पा, वडा अध्यक्षहरु तथा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।