तिलाचन पाण्डे
तम्घास, माघ २६ गते। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेता व्यक्तिगत स्वार्थमा लाग्दा जनताको विश्वासबाट टाढा पुगेको बताउनुभएको छ।
सदरमुकाम तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो नगर सम्मेलनको उद्घाटन गर्दै भण्डारीले जनताको चिन्ता भन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा नै जनताबाट नेताको विश्वास गुम्दै गएको बताउनुभयो। पछिल्लो समयमा नेता जनताको चिन्ता भन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्ने गरेकाले नै समस्या उत्पन्न भएको उहाँको भनाइ छ।
जिल्लाको विकासका लागि आफूले हरदम प्रयास गर्दै आएको र अब पनि गर्ने बताउँदै बिचलित नहुन उहाँले आग्रह गर्नुभयो। आफू एक पटक मरेर पनि बाँचेको स्मरण गर्दै भण्डारीले जनतासामु शिर झुकाउने गरी कुनै काम नगर्ने र जिल्लाको विकासकै लागि समय प्रदान गर्ने उहाँको भनाइ छ।
अन्य जिल्लामा भन्दा गुल्मीमा नमूना योग्य काम आफूले गर्दै आएको उहाँको दाबी छ। तीन जिल्लालाई जोड्ने गरी रुरुक्षेत्रको रिडीमा तीन मुखे पुल निर्माण गरेको बताउँदै उक्त पुल देशकै नमूना भएको उहाँको भनाइ छ।