लीलाधर वली
घोराही, माघ २६ गते । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका दाजु १० वर्षीय शिशिर केसी र ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा पड्किदा भाइलाई गोली लागेर मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, चार वटा गोली, ३२८ थान छर्रा समेत बरामद गरेको घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिएको बताउनुभयो ।