कलालेखन भनेको सौन्दर्य, सिर्जनशीलता र भावनात्मक अभिव्यक्तिको माध्यमद्वारा लेखिएको साहित्यिक सिर्जना हो । यो कलालेखन सूचनामूलक वा तर्कपूर्ण मात्र नभई यसले मूलतः कलाकार, कलासमीक्षक, कलादर्शक वा पाठकलाई कलात्मक अनुभूति दिने गरी सिर्जना गरिन्छ । यस किसिमको कलालेखनले देशको कलाको विगत र वर्तमान कला विकासका विविध पक्षमा कला र कलाकारको विषयमा जानकारी दिन्छ । नेपालको कला परम्परामा सदियौँदेखिको उत्थानपतनको कथाले भरिएको छ । यसले नयाँ शैलीलाई आत्मसात् गर्दै कहिले संरचनागत अवरोध र उपेक्षाको मार खेप्नु परेको छ ।
विशेषतः नेपाली कलालेखनको अवस्था अझ विडम्बनायुक्त छ भन्दा फरक पर्दैन । एकातर्फ मौलिक कलाको सम्पदा हाम्रो पहिचानका रूपमा स्थापित छ । अर्कातर्फ समकालीन नेपाली कलाकारको सिर्जनात्मक सङ्घर्ष ओझेलमा परेको देखिन्छ ।
पहिलेदेखि अहिलेसम्म नेपाली कलालेखन अपर्याप्त छ । नेपाली कलाको समृद्ध इतिहास भए पनि कलासम्बन्धी लेखनले अपेक्षाकृत गति लिन सकेको छैन । परम्परागत रूपमा कला विश्लेषण मन्दिरका मूर्ति, चित्रकला, मिथक र इतिहासमा सीमित रह्यो । हाल आएर कलाको बदलिँदो प्रवृत्तिलाई टिप्ने प्रयास भए पनि कलालेखनको पहुँच व्यापक छैन । कलाका विभिन्न माध्यम जस्तै मूर्तिकलाको विविधता, आधुनिक चित्रकलाका प्रयोग र कलागत द्वन्द्वलाई समेट्ने अध्ययन र लेखन सीमित देखिन्छ । ऐतिहासिक धरातल र वर्तमान विसङ्गति विद्यमान छ । मल्लकालीन वास्तुकला होस् वा लिच्छविकालीन मूर्तिकला, नेपाली कला इतिहासले विश्वकै ध्यान खिच्न सफल भएको छ तर समसामयिक नेपाली कलाकारको सङ्घर्ष, नवीन प्रयोग तथा उनीहरूको कलात्मक उचाइबारे पर्याप्त समीक्षात्मक लेखन पाइँदैन । कलालेखन संस्थागत रूपमा सबल हुन नसक्दा कलाकारको योगदान, सिर्जनात्मक उन्नति र चुनौती प्रायः मौन रहन्छन् ।
आधुनिक कला प्रवृत्ति र लेखकीय संवेदनशीलता पनि शिथिल अवस्थामै छ । आजको समयमा नेपाली कलाकारले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन खोजिरहेका छन् । नयाँ माध्यम प्रयोग गर्ने, समसामयिक सामाजिक, राजनीतिक विषयवस्तुलाई चित्रण गर्ने कलाकारको सङ्ख्या बढ्दो छ तर उनीहरूको सिर्जना गम्भीर आलोचनात्मक अध्ययनको अभावमा मौखिक चर्चा वा व्यक्तिगत सराहनामा सीमित हुने गर्छ । कलालाई ‘रमाइला दृश्यहरू’ को रूपमा हेर्ने प्रवृत्तिले यसको गहिराइ बुझ्ने संस्कृतिलाई कमजोर बनाएको छ ।
त्यसै गरी कलालेखनका चुनौती पनि त्यत्तिकै छन् । कलासम्बन्धी लेखनमा मूलतः तीन प्रमुख चुनौती देखिन्छन् :
कलासमीक्षकको अभाव : नेपालमा साहित्यिक समीक्षक धेरै भए पनि कलासमीक्षक सीमित छन् । कलाको सौन्दर्यशास्त्र, प्रविधि र अभिव्यक्तिको गहिरो अध्ययन गरी लेख्ने अभ्यास न्यून छ ।
कला र समाजबिच दुरी : नेपाली समाजमा अझै पनि कलालाई विशेषज्ञ वा कुलीन वर्गको विषय झैँ हेरिन्छ । कलालेखनले समाज र कलाकारबिच पुलको काम गर्नुपर्ने भए पनि यस दिशामा ठोस प्रयास भएको देखिँदैन । कला संस्थाको भूमिका : नेपालमा कलासम्बन्धी अध्ययन गराउने शैक्षिक संस्था छन् तर ती कति प्रभावकारी रूपमा कार्यरत छन् भन्ने प्रश्न उठ्छ । कलालेखनमा अनुसन्धानको अभाव, प्रकाशनका कठिनाइ र पाठकको सीमितता अझै प्रमुख अवरोधका रूपमा छन् । विडम्बनाबिच नेपाली कलालेखन भइरहेको छ तर अब यसको भावी सम्भावना र बाटोको खोजी अति आवश्यक छ । त्यसका लागि नेपाली कलालेखनलाई सबल बनाउन केही उपाय अवलम्बन गर्न आवश्यक छ । जस्तै, कलासमीक्षामा रुचि राख्ने नयाँ पुस्तालाई प्रोत्साहन गर्ने । कला पत्रकारिता, पुस्तक प्रकाशन र सूचना प्रविधिको प्रयोगद्वारा कलासम्बन्धी लेखनलाई प्रवर्धन गर्ने । समकालीन कलाकारसँग अन्तर्वार्ता, कला प्रदर्शनीको समीक्षात्मक लेखन र कलासम्बन्धी गम्भीर बहस सुरु गर्ने । कलाशिक्षाका पाठ्यक्रममा कलालेखनको आवश्यकता र महìव बढाउने ।
नेपाली कलालेखन यतिखेर एउटा सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । मौलिकता र नवीन प्रयोग प्रशस्त भए पनि तिनको सशक्त अभिलेखन र समीक्षाको अभावमा समकालीन नेपाली कला अन्तर्राष्ट्रिय मञ्चमा उचित स्थान बनाउन सङ्घर्षरत छ । कलाको आलोचनात्मक अध्ययनलाई सबल बनाउन सके मात्र कलालेखनले नयाँ युगको आधार निर्माण गर्न सक्ने छ । यो क्षेत्रका विद्वान्, कलासमीक्षक, कलाकार र कलापारखीबिचको सहकार्यले मात्र नेपाली कलालेखनलाई विडम्बनाबाट बाहिर निकाल्न सक्ने छ ।
साहित्य, सङ्गीत, नाटक जस्ता विधाको तुलनामा नेपाली कलालेखन अझै ओझेलमै छ । कलाकारका सिर्जना दृश्य रूपमा उजागर भए पनि त्यसको व्याख्या गर्ने, समाजसँग जोड्ने, तर्कशील विमर्श अघि बढाउने कलालेखन अपेक्षाकृत रूपमा कमजोर देखिन्छ । कलाकारका कृतिहरू आलोचनात्मक दृष्टिकोणमा विश्लेषण गरिँदैन । कलासमीक्षा वा कलालेखन आफैँमा एक पृथक् विधाका रूपमा स्थापित हुनु पर्छ । कलालेखनको यथार्थ बुझ्न एउटा उदाहरण पर्याप्त छ । ५० वर्ष उमेर समूहका १२५ जना जीवित कलाकारको जीवनवृत्त समेटिएको ‘प्रतिनिधि नेपाली कलाकार’ प्रकाशित भएको तीन वर्ष व्यतीत भइसकेको छ । सो कृति सम्बन्धित कलाकार तथा पाठकको पहुँचमा पुग्न सकेको छैन । यसमा कलाकारलाई पनि कुनै चासो छैन । अरूलाई चिन्ता भएर केही हुँदैन ।
कलापुस्तकको अवस्थालाई प्रतिविम्बित गर्ने यो एक प्रसङ्ग मात्र होइन । यो नेपाली कला र कलालेखनप्रतिको उपेक्षाको दुरवस्थाको सङ्केत पनि हो । अन्ततः कला क्यानभासमा सीमित रहने कि विचारधाराको संवाहक बन्ने भन्ने प्रश्न यत्तिकै सुषुप्त अवस्थामा रहिरहन्छ । कलालेखनको महत्व र विडम्बना विद्यमान छँदै छ । कला मानव सभ्यताको मौलिक अभिव्यक्ति हो । यद्यपि कुनै पनि समाजमा कला मात्र पर्याप्त हुँदैन; त्यसको व्याख्या, विमर्श, विश्लेषण र अभिलेखन अनिवार्य हुन्छ । कलाकारको सिर्जना जीवित राख्न सङ्ग्र्रहालयमा राख्ने कार्यले मात्रै हुँदैन । त्यसलाई अभिलेखन गर्ने, समाजसँग जोड्ने, आलोचनात्मक तर्कसहित संरक्षित गर्ने कार्य कलालेखनले गर्छ ।
यद्यपि यहाँ मुख्य प्रश्न उब्जिन्छ, के नेपाली समाजले कलालेखनलाई गम्भीरतापूर्वक लिन्छ ? अहिलेसम्मको अवस्था हेर्दा यस प्रश्नको उत्तर उत्साहजनक र चित्तबुझ्दो देखिँदैन किनकि नेपाली कलासाहित्यमा समीक्षाको परम्परा छ । कलासमीक्षाको अभ्यास भने दुर्लभ र न्यून उपस्थिति छ । त्यस्तै कला बुझ्ने, लेख्ने र यसलाई विश्लेषणात्मक ढङ्गमा प्रस्तुत गर्न सक्ने लेखक पनि न्यून छन् । यसका साथै यस क्षेत्रमा पाठकको चासो अपेक्षाकृत न्यून छ । संस्थागत उदासीनता अनि राज्यस्तरबाट पनि कलासमीक्षाको प्रवर्धन हुने स्थिति छैन । कलासम्बन्धी गहन अनुसन्धान र लेखन गर्न चाहने व्यक्तिलाई प्रकाशनको अभाव र न्यून पाठकीय बजारले निरुत्साहित गर्छ ।
कलासमीक्षाको अभाव, कलालेखनको न्यूनता र पाठकको उपेक्षाबिचमा नेपाली कलालेखनले कुनै सुनिश्चित दिशा लिएर अघि बढिरहेको छ भन्न गाह्रो छ । समकालीन कलालेखनले समुचित गति लिन र पूर्ण रूपमा कलालेखन नै स्थगित पनि भइसकेको अवस्था छैन । वस्तुतः यसलाई बिस्तारै घिसारिँदै लगिएको एउटा पाटो भन्न सकिन्छ तर प्रश्न गति वा गतिरोधको मात्र होइन; प्रश्न कला र कलालेखनको आपसी सम्बन्ध बुझ्ने पनि हो । यदि कलालेखनले कला, समाज, इतिहासको अन्तरसम्बन्धलाई गहिराइमा व्याख्या गर्न सकेमा मात्र यसले आफ्नो सार्थकता प्रमाणित गर्न सक्छ । वास्तवमा समकालीन कलालेखनलाई पुनर्जागरणको आवश्यकता छ । यसका लागि यस क्षेत्रका कलाकार र कलालेखकले गम्भीर बहस प्रारम्भ गर्नु जरुरी छ । त्यो बहसमा प्रकाशित कलाकिताबको सङ्कलन, अध्ययन र समीक्षात्मक अन्तर्क्रिया आवश्यक हुन्छ । यसले एकातिर कलासम्बन्धी कृति र कृतिकारको अभिलेख तयार गर्न मद्दत गर्छ । अर्कातिर ती कृतिमा कलालेखनका विषय उठानमाथि गम्भीर विश्लेषण गर्न सकिन्छ । यतिले मात्र पनि कलालेखनको विगत, वर्तमान र भविष्यको अभिलेखनमा सानो प्रयत्नको खाका प्रारम्भ हुन सक्छ ।
कलासमीक्षा र कलाको कृति समालोचना व्यापक बनाउनु– कला हेर्ने वस्तु मात्र नभएर पढ्ने, बुझ्ने र विश्लेषण गर्ने विषय पनि हो भन्ने चेतनाको विकास हुनु पर्छ । कलालेखनका नयाँ प्रवृत्ति विकसित गर्नु पर्छ, परम्परागत समीक्षामै सीमित नभई, ‘डिजिटल प्लेटफर्म’ मा कलासम्बन्धी विश्लेषण, संवाद र लेखनको प्रवर्धन आवश्यक छ । कलालेखनलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी व्यवस्थित रूपमा अध्ययन र लेखन गराउने पहल आवश्यक छ । नियमित कला प्रदर्शनीसँगै कलालेखन र कलासमीक्षाको परिचर्चा हुने कार्यक्रम आयोजना गरिनु पर्छ । वास्तवमा कलालेखनको यात्रालाई सुनिश्चित गर्ने कि ओझेलमै छोड्ने ? भन्ने गम्भीर प्रश्न पनि छ । कलाकारको सिर्जना जति महìवपूर्ण छ, त्यसको लेख्य दस्ताबेजीकरण र समीक्षात्मक विश्लेषण पनि उत्तिकै आवश्यक छ । यदि नेपाली समाजले कलालेखनलाई उपेक्षा गरिरहने हो भने आगामी पुस्ताले नेपाली कलापरम्परा बुझ्ने आधारसमेत गुमाउने निश्चित छ । कलालेखनलाई ओझेलमुक्त बनाउने जिम्मेवारी लेखक वा समीक्षकको मात्र होइन; पाठक, कलाकार, शैक्षिक संस्था र नीतिनिर्माता सबैको साझा उत्तरदायित्व हो । अब प्रश्न, कलालेखन हिँडिरहेको छ कि छैन भन्ने मात्र होइन, हामी यसलाई हिँडाउन तयार छौँ कि छैनौँ भन्ने पनि हो ।
पुस्तक लेख्नु मात्र कुनै लेखकको अन्तिम गन्तव्य होइन । त्यसले पाठकमा चेतना, विचार र संवादको आयाम विस्तार ग¥यो कि गरेन भन्ने कुरा लेखकको सन्तोषको मापन हो । ‘प्रतिनिधि नेपाली कलाकार’ लेख्दा लेखकको उद्देश्य के थियो ? नेपाली कला परिदृश्यमा सक्रिय १२५ कलाकारको योगदानलाई दस्ताबेजीकरण गर्नु, समकालीन कलाको अभिलेख तयार पार्नु वा कला संस्कृतिमा रुचि राख्ने नयाँ पिँढीलाई मार्गदर्शन दिनु ? जो जसरी बुझोस् तर लेखकीय प्रयासको सार्थकता विशेषतः कलाकर्मीको पाठकीय उत्सुकतामा निर्भर रहन्छ ।
अपितु विडम्बना यो किताब जो पढ्न चाहन्छन्, तिनले पाउँदैनन् । जसले पाएका छन्, तिनीहरूले पढ्दैनन् । यसको अर्थ पुस्तक र पाठकबिच कतै असहज पुल खडा भएको छ । नेपाली समाजमा कलाको गम्भीर अध्ययन गर्ने परिपाटीको अभाव छ वा कलाको महत्व बुझ्ने वृत्त सीमित छ ? लेखकको ध्येय के पुस्तकीय सङ्ग्रहमा सीमित हुनु थियो कि यसले सर्जकलाई संवादको वृत्तमा तान्नु थियो ?
नेपाली कलाको अभिलेख तयार पार्नु सहज छैन । देशमा कला समालोचनाको समृद्ध परम्परा छैन । नेपाली कलाकारको जीवनवृत्त सङ्ग्रह गर्ने परिकल्पना आफैँमा साहसिक हो तर यस्तो महत्वपूर्ण कृति सीमित पाठकसम्म मात्र पुग्नु दुःखद कुरा हो ।
कुनै कृति किन चर्चित हुन्छ ? कुनै पुस्तक किन वञ्चित हुन्छ ? के यो वितरण प्रणालीको कमजोरी हो कि समकालीन समाजको कलाप्रति औँलाले गनेर सकिने चासो ? कि यसको भाषा, प्रस्तुति र विषयवस्तु पाठकका लागि ‘सहज प्रवेशयोग्य’ भएन ? यहाँनेर कलालेखकले प्रश्न गर्नै पर्छ, “मेरो कृतिले पाठकलाई किन भेट्न सकेन ?” प्रकारान्तरमा कलाकार र पाठकले आत्मसमीक्षा गर्नै पर्छ, “मैले एउटा ऐतिहासिक दस्ताबेजलाई किन बेवास्ता गरेँ ?” यसका साथै कलाचेतनाको अभावले मात्रै कलाकार र पाठक टाढिएका हुन् कि स्वयम् लेखकको शैली र प्रचारप्रसारको रणनीतिले सीमित वृत्तभित्र मात्रै घुमाइरह्यो ? यो प्रश्न पनि निकै सोचनीय छ । कलालेखन वा कलासमीक्षा कलाकारको सिर्जनामाथि दोष देखाउनु मात्र होइन । समीक्षाले संवादको ढोका खोल्छ, खोल्नु पर्छ ।