धनगढी समाचारदाता
धनगढी, माघ २५ गते । कैलालीको घुरहा नदीस्थित घुरहा पुलमा परेको भ्वाङ सुदूरपश्चिम प्रदेश सरकारले टालेर मर्मतसम्भार गर्ने भएको छ । कैलारी गाउँपालिका–४ को केगाउँ र ६ को भगतपुर, धर्मापुर जोड्ने पुललाई जोगाउनका लागि प्रदेश सरकारले मर्मत गर्ने भएको हो । घुरहा नदीले बहाव परिवर्तन गरी पूर्वतर्फ कटान गर्दा पुल किनारमा ठुलो भ्वाङ परेर पुलै जोखिममा परेको छ ।
काम चलाउनका लागि हरेक वर्ष स्थानीय सरकारले भ्वाङ टालटुल पार्ने काम गर्दै आएको थियो तर जोखिम टरेको छैन । मर्मतका लागि ठुलो बजेटको आवश्यकता छ । पुल किनारमा परेको भ्वाङ मर्मत र पुल जोगाउनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो ।
उहाँका अनुसार पुलछेउमा मर्मतका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएर प्रक्रिया अगाडि बढाइसकेको छ । “अब केही दिनभित्रै ठेक्का हुन्छ,” अध्यक्ष चौधरीले भन्नुभयो, “यस वर्ष पुल किनारमा भइरहेको कटान रोक्न र पुल जोगाउनका लागि मर्मत हुन्छ ।”
लुम्बिनी–राजेन्द्र जेभीले निर्माण गरेको पुल किनारमा भ्वाङ परेपछि ठुला सवारीसाधन आउजाउमा समस्या परेको छ । भ्वाङ परेपछि दुर्घटनाको जोखिम पनि छ । जोखिम मोलेर पुलमा ओहोरदोहोर गर्ने गरिएको छ । पाँच स्पानको सो पुलको लम्बाइ १२५ मिटर रहेको छ ।
धर्मापुरका स्थानीय रघुनाथ चौधरीका अनुसार पुल निर्माण गर्ने बेला नदीको बहाव पश्चिमतिर थियो । त्यता पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्कायो । फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चितिर गरिएन । जसले गर्दा समस्या निम्तिएको छ । “नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै उतै धार बन्यो,” चौधरीले थप्नुभयो, “पहिले नदी बग्ने ठाउँमा अहिले वन छ । नदी प्रत्येक वर्ष वर्षायाममा कटान गर्दै पूर्वतिर गइरहेको छ ।”