अर्जुन काफ्ले
स्याङ्जा, माघ २३ गते । लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर उहाँको मृत्यु भएको हो ।
गल्याङ नगरपालिका –१ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्यालको जलेर मृत्यु भएको छ । खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको थियो ।
त्यहाँ उपचारपश्चात् अर्याललाई थप उपचारका लागि मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।