काठमाडाैं, माघ २१ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ ।
सोमबार पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताउनुभयो ।
अहिले पनि सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "हामीले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ । शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन । हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन । गुणस्तर शिक्षा दिन र अतिरिक्त क्रियाकलापमा पनि र विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेमा सामुदायिक स्कुलहरूले धेरै राम्रो काम गरिरहेका छन् ।"
उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।