अमरराज नहर्की
तनहुँ, माघ २१ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले कार र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खैरेनीटारबाट दमौली जाँदै गरेको ग१क ५८९६ नं. को खाली टिपरले विपरित दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नं.को कार र ग १८ प ७७५२ नं. को स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ लेखनाथ निवासी ४१ वर्षीया अप्सरा क्षेत्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । यसैगरी, २१ वर्षीय दिपेश कुमार क्षेत्री घाइते हुनुभएको छ । उहाँहरु आमा छोरा हुनुहुन्छ ।
त्यस्तै, कार चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ३१ वर्षीय महेश पौडेल पनि घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
टिपर चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका–२ भुलभुले बस्ने वर्ष–४० को प्रकाश गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरले आइतबार साँझ ६ बजे ठक्कर दिएको थियो ।