• १३ असोज २०८१, आइतबार

विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन अनेरास्ववियुको माग

blog

फाइल तस्बिर

काठमाडौं, जेठ १३ गते। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्‍याउन माग गरेको छ। 

अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै  शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको लापरवाहीले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयमा पुगिसक्नुपर्ने भए पनि पाठ्यपुस्तक नपुगेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ। 

‘‘जनक शिक्षा सामग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउँदै लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेर समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’’ विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष बरालले जनक शिक्षा सामग्री केन्द्र भित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी केन्द्रको क्षमता वृद्धि गर्दै यसलाई व्यवस्थित गरेर विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउनुपर्नेमा जोड दिनुभएको छ।