• २० माघ २०८१, आइतबार

घट्यो तरकारी, उठेन ढुवानी

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २० गते । तरकारीको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान मारमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको मौसमी तरकारीले अहिले मूल्य पाउन सकेको छैन । तरकारी टिपेर बजारसम्म ल्याएको ढुवानी खर्चसमेत नउठ्ने अवस्था रहेको किसानले बताएका छन् । यहाँका किसानले गोलभेँडा, सिमी, भान्टा, काउली, बन्दालगायतका तरकारी उत्पादन गरेका छन् । यहाँको थोक बजारमा बढीमा १४ रुपियाँमा बिक्री भइरहेको छ । किसानले सिमी केजी १२ रुपियाँमा बिक्री गरिरहेका छन् । 

काउली पाँचदेखि सात रुपियाँ र बन्दा पाँच रुपियाँ प्रतिकेजीमा बिक्री गर्नुपर्ने किसानको बाध्यता रहेको छ । भान्टा फलाउने किसानले पनि उचित मूल्य पाउन सकेका छैनन् । भान्टा केजीको १० देखि १२ रुपियाँमा बिक्री भइरहेको छ । हरियो धनियाँको पात केजीको २० रुपियाँसम्ममा बिक्री भइरहेको छ । महँगो विषादी, मलखाद र कामदार प्रयोग गरेर उब्जाएको तरकारीले भाउ नपाउँदा मार परेको लालबन्दी नगरपालिका–११, हिरापुरका किसान बुधलाल थिङले गुनासो गर्नुभयो । 

किसानका अनुसार प्रत्येक तरकारीको मूल्य तीन गुणाले घटेको छ । अहिले मौसमी तरकारी धेरै नै उत्पादन भएको र बजारमा पनि प्रशस्त आइरहेकाले मूल्य घटिरहेको लालबन्दी थोक तरकारी बजार समितिले जनाएको छ । 

तरकारी व्यापारी मोहम्मद उस्मानले बाहिरी जिल्लाबाट समेत काठमाडौँलगायत देशका प्रमुख सहरमा अत्यधिक तरकारी भित्रिरहेकाले यहाँको तरकारी बाहिरी जिल्लामा कम परिमाणमा निर्यात भइरहेको बताउनुुभयो । नजिकका जिल्लाबाट काठमाडौँमा अझ सस्तो मूल्यमा तरकारी पुगिरहेकाले सर्लाहीबाट बढी मूल्यमा तरकारी लगेर काठमाडौँमा बिक्री गर्न सक्ने अवस्था नरहेको व्यापारी उहाँको भनाइ छ ।