• १९ माघ २०८१, शनिबार

थुम्बेदिनले जित्यो मुन्धुङ्गे कप भलिबल उपाधि

blog

उपाधि विजेतालाई ट्रफी र पुरस्कार वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १९ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा सम्पन्न पाँचौं मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले जितेको छ। मिक्वाखोला गाउँपालिका–५ पापुङको हिमाली तोक्पेगोला भलिबल टोलीलाई पराजित गर्दै पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले उपाधि जितेको हो।

भलिबल उपाधि जितसँगै थुम्बेदिनले एक लाख ३१ हजार रुपियाँ नगद पुरस्कारसहित तीन वर्षे रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको पापुङले नगद ८१ हजार रुपियाँसहित पदक र प्रमाणपत्र पाएको छ। यस्तै प्रतियोगितामा तृतीय बनेको मेरिङ्देन गाउँपालिका–६ नाल्बुले ३१ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो।

वडास्तरीय भलिबलसँगै छेलो हान्ने र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिएको मुन्धुङ्गे संरक्षण तथा हाट बजार व्यवस्थापन समिति अध्यक्ष धिरेन लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष कार्की, लिवाङका वडाध्यक्ष मचिन्द्र लिम्बूलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।