• १९ माघ २०८१, शनिबार

ताराघाट–कासीकाँध सडक निर्माणमा ढिलासुस्ती

blog

ताराघाट–कासीकाँध सडकखण्डमा नाला निर्माण गरिँदै । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता 

दैलेख, माघ १९ गते  । निर्माण व्यवसायीको लापर्बाहीका कारण महाबु गाउँपालिकाको ताराघाट–कासीकाँध सडक निर्माणमा ढिलासुस्ती भएको छ । २०८० भदौ ८ गते सकिने गरी २०७९ साल साउन ९ गते पन्त आकृति जेभी निर्माण सेवा गुल्मीले छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का लिएको सडकको प्रगति २३ प्रतिशत मात्र रहेको पूर्वाधार विकास कार्यालय दैलेखले जानकारी दिएको छ । 

बहुवर्षीय योजना अन्तर्गत बन्दै गरेको ताराघाट–खरिगैरा–रानीवन–कासीकाँध सडकखण्डको पहिलो चरणमा छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी उक्त निर्माण कम्पनीले १६ करोड १४ लाख ८८ हजार ९८४ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले सडक निर्माणमा भएको ढिलासुस्तीबारे आफूले स्थलगत निरीक्षण गरेको र काम छिटो गर्न निर्माण कम्पनीलाई ताकिता गरेको बताउनुभयो । उहाँले सडक गुणस्तरीय बनाउनसमेत त्यहाँका जनप्रतिनिधि र निर्माण कम्पनी दुवैलाई राखेर आवश्यक समन्वय र सहजीकरण गरिएको जानकारी दिनुभयो । 

सडक निर्माण कम्पनी पन्त आकृति जेभी गुल्मीका सबइन्जिनियर घनश्याम भण्डारीले ताराघाटदेखि कासीकाँध जाने सडक बहुवर्षीय भएको र पहिलो चरण सडक निर्माणसँगै छ किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताबमोजिम निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले सडक निर्माणको काम गर्दा पेटी ठेकेदारलाई दिएको र पेटी ठेकेदार नै भाग्ने समस्याले काममा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले सबै सामान दिएर पेटी ठेकेदारलाई काम दिएका थियौँ, सबै भागेपछि केही समय ढिला भएको हो, अब चाँडै सक्ने गरी अगाडि बढ्छौँ ।” 

महाबु गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष प्रकाश थापाले ताराघाँट कासीकाँध सडक निर्माणमा निर्माण कम्पनीको लापर्बाहीले काम ढिला भएको बताउनुभयो । उहाँले स्थानीय नागरिकको कुनै पनि विरोध नभएको सडकमा विभिन्न बहानामा निर्माण कम्पनी भाग्ने र काम नगर्ने समस्या रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय दुवै पक्षलाई राखेर कामलाई तीव्रता दिन ताकिता गरेका छौँ, अबको समयावधिभित्र निर्माण हुनेमा विश्वस्त छौँ । ”

ताराघाट कासीकाँध सडक निर्माणका लागि पहिलो चरणमा २४ करोडको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले १६ करोड १४ लाख ८८ हजार ९८४ रुपियाँमा सम्झौता र फेरि यति ठुलो बजेट यो योजनामा नपर्ने भएका कारण कामलाई तत्काल सक्न आफूहरूले ताकिता गरेको अध्यक्ष थापाको भनाइ छ । सम्झौता सकिन सात महिना बाँकी रहँदासमेत निर्माणले गति लिन नसकेको भन्दै स्थानीयले निर्माण कम्पनीलाई ताकिता गर्दासमेत बेवास्ता गरिएको स्थानीयले बताएका छन् । महाबु गाउँपालिका–२ का अम्मरबहादुर थापाले सडक निर्माण गर्ने कम्पनीले निर्माण गर्दा सामान्यसमेत मापदण्ड पूरा नगर्दा यात्रा गर्ने यात्रुले धुलो खानु परेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले सडक बनाउँदा धुलो मार्नेसमेत पैसा पाउँछन तर ठेकेदारले अहिलेसम्म धुलो मार्न पानी प्रयोग गरेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय तथा पूर्वाधार विकास कार्यालय दैलेखबाट सञ्चालित आयोजना ताराघाट, खरिगैरा, गैँडाबाज, रानीवन, टाकुरी कासीकाँध सडक निर्माणको काम भइरहेको छ ।