• १९ माघ २०८१, शनिबार

विधायिकी विलम्बमा सभाध्यक्ष असन्तुष्ट

blog

काठमाडौँ, माघ १९ गते  । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको विधेयक समयमा राष्ट्रिय सभामा प्राप्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समयमा विधेयक प्राप्त नहुँदा कार्यसम्पादनमा समस्या आएको उल्लेख गर्नुभयो । 

राष्ट्रिय सभाको १७ औँ अधिवेशनको सुरुवातमा शुभकामना सन्देश वाचन गर्ने व्रmममा सभाका अध्यक्ष दाहालले सो असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले 

१६ औँ अधिवेशनको अन्त्यपछि विधायन व्यवस्थापन समितिले ३८ वटा बैठकबाट तीन वटा विधेयकको प्रतिवेदन तयार गरेको र बाँकी एउटा विधेयक छलफलका व्रmममा रहेको जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले सदनमा उठेका विषयबारे सरकारका सम्बन्धित मन्त्रीलाई उत्तरदायित्व वहन गर्न विशेष ध्यानाकर्षण गराउनुभयो । सभाको बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “बैठकमा भएका छलफलका आधारमा सभाबाट भएको रुलिङ एवं सम्बन्धित निकायलाई दिएका राय एवं निर्देशन कार्यान्वयनको अवस्थाको जानकारी माग गरिएकोमा छ वटा निकायबाट मात्र लिखित विवरण प्राप्त भएको छ ।” 

अध्यक्ष दाहालले अधिवेशन जारी नरहेको अवस्थामा राष्ट्रिय सभा अन्तर्गतका समितिले गरेको कामको प्रशंसा गर्दै समितिबाट भएका कामको विवरण उल्लेख गर्नुभयो । उहाँले विकास आर्थिक मामिला तथा सुशासन समितिका १०, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका १२ तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका ३० वटा बैठकले महŒवपूर्ण विषयमा छलफल तथा निर्णय गरेको बताउनुभयो । 

प्रमुख नेताको सम्बोधन

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताले अधिवेशन सफलताको शुभकामनासहित सदनलाई सम्बोधन गर्नुुभएको छ । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार अझै सङ्घीयताको मर्म, संविधानको व्यवस्था र जनताको अपेक्षाबमोजिम काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गरिब जनताको आर्थिक स्तरोन्नतिको जिम्मेवारी राज्यको हुन्छ । मौलिक हक अन्तर्गतका अन्य प्रावधानबमोजिम राज्यले निर्वाह गरेको भूमिकाको आत्मसमीक्षा हुन जरुरी छ । कमजोरीलाई सुधार गरेर अगाडि जाऔँ ।”

नेता सिटौलाले प्रदेशले उठाउँदै आएको कानुन निर्माणसम्बन्धी व्यवस्थाबारे सङ्घले जिम्मेवार भई प्रदेश प्रहरी र प्रशासन गठनसम्बन्धी व्यवस्थाको बाटो बनाइदिन आग्रह गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अधिवेशनलाई अध्यादेश अधिवेशन बनाउन पुगेको भन्दै आपत्ति प्रकट गर्नुभयो । नेता श्रेष्ठले भन्नुभयो, “सत्तापक्ष र विपक्ष, सरकार वा संसद् जहाँ रहे पनि राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व कसैले बिर्सनुहुन्न । पाँच वटा मुख्य कार्यभार रहेकामा राष्ट्रिय एकता कायम गरी शान्ति प्रव्रिmयाको बाँकी काम पूरा गर्ने सन्दर्भमा आयोग गठन गर्ने सिफारिस समिति पुनः गठन गरी काम अगाडि बढाउनु पर्छ ।”

नेकपा एमालेका भगवती न्यौपानेले विगतको अभ्यासलाई समेत हेर्दा अधिवेशन बोलाउन ढिलाइ नभएको र अध्यादेश ल्याइनु संवैधानिक व्यवस्था रहेकोमा अनावश्यक टिप्पणी गर्न नहुने जिकिर गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले १६ औँ अधिवेशनको अन्त्य हुनुभन्दा देश खराब स्थितिमा पुगेको दाबी गर्दै जनअपेक्षा अनुसारका काम नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । जनता समाजवादी पार्टी, नेपालका नेता मोहम्मद खालिदले नेपाल विश्वको तेस्रो प्रदूषित राष्ट्रका रूपमा आएको भन्दै वातावरण प्रदूषण न्यूनीकरण गर्ने उपाय सम्बन्धमा अझै प्रभावकारी कदम चाल्नुपर्ने बताउनुुभयो । 

छ वटा अध्यादेश पेस

सभाको शुव्रmबारको बैठकमा सरकारले छ वटा अध्यादेश पेस गरेको छ । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुभयो । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नुभयो । त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुभयो । 

बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधान सभा सदस्य रामजीप्रसाद शर्मा र अब्दुल हमिद सिद्धिकी र प्रतिनिधि सभाका सदस्य प्रेमलाल सिंहको निधनमा शोक प्रस्ताव पारित ग¥यो । सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल विधेयक, २०८१ र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो ।