• १९ माघ २०८१, शनिबार

सरकारको दोस्रो सय दिन : सञ्चार मन्त्रालयको प्रगति शतप्रतिशत

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । मन्त्रालयले शुक्रबार पछिल्लो दुई सय दिनको उपलब्धि सार्वजनिक गर्दै यो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका सचिव राधिका अर्यालले सय दिनभित्र सरकारले तोकिएका शतप्रतिशत कार्य सम्पन्न गरिएको बताउनुभयो । उहाँले माघ १७ गतेसम्म भएका कार्यविवरण सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार यस अवधिमा दूरसञ्चार सेवाको नेटवर्क कभरेजको ग्याप एसेसमेन्ट गर्ने प्रतिवेदन तयार भएको, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ ।

त्यसै गरी कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएस) सञ्चालनका लागि थप सात वटा निकायमा तालिम सञ्चालन गर्ने भनिएकोमा १० वटामा तालिम सञ्चालन गरिएको, २० वटा सिस्टम सफ्टवेयर प्रणालीको सुरक्षा अडिट सम्पन्न भएको र अहिलेसम्म यस आर्थिक वर्षमा ३० वटा प्रणाली थप गरी जम्मा ९३ वटा प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भइसकेको छ ।

सचिव अर्यालका अनुसार ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवाको पहुँच ०.३६ प्रतिशतले विस्तार भएको र यसबाट थप एक लाख ५१ हजार २५ जना लाभान्वित भएका छन् । चालु आवमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा १.७२ प्रतिशत पुगेको छ । यसरी १.७२ प्रतिशत वृद्धि हुँदा थप पाँच लाख १७ हजार ६३ जना लाभान्वित भई हालसम्म १३ लाख ४२ हजार ५३२ जनाले सेवा प्राप्त गरेका छन् । 

‘डिजिटलाइजेसन’ को कार्य सम्पन्न

सचिव अर्यालले गोरखापत्रका पुराना प्रकाशनको थप आठ वर्षको ‘डिजिटलाइजेसन’ को कार्य सम्पन्न भएको जानकारी दिनुभयो । यस अवधिमा थप १६ वर्षको डिजिटलाइजेसन कार्य सम्पन्न भई अहिलेसम्म कुल ८४ वर्षको डिजिटल रूपान्तरण गरिएको छ । 

गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी समावेशी कार्यक्रम (नयाँ नेपाल) प्रकाशन गरिएको छ । यस आवमा गोरखापत्र दैनिकमा रानाथारू र बाम्बुले राई भाषा थप गरी ४५ भाषामा विभिन्न सामग्री प्रकाशन गरिएको छ ।

त्यसै गरी रेडियो नेपालका थप एक हजार वटा पुराना ‘अडियो टेप’ को डिजिटल रूपान्तरण गर्ने भनिएकामा मन्त्रालयले थप एक हजार ४५३ वटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । यस अवधिभर दुई हजार ८८६ वटा थप गरी अहिलेसम्म ५४ हजार ३८६ पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । 

रेडियोको राष्ट्रिय पहुँच थप एक प्रतिशतले वृद्धि भई हालसम्म ९४ प्रतिशतमा पहुँच विस्तार भएको छ भने टेलिभिजन पहुँच ७२ प्रतिशत पुगेको छ । रेडियो नेपालबाट प्रसारण हुने समावेशी कार्यव्रmम दनुवार भाषा थप गरी अहिलेसम्म २५ वटा भाषा पुगेको छ । 

उहाँका अनुसार फोरजी/एलटिई सेवा ५.९९ प्रतिशतले विस्तार भई अहिलेसम्म ८५.९८ प्रतिशत जनसङ्ख्यामा पुगेको, नागरिक एपमा आबद्ध सरकारी सेवा ६४ पुगेको छ । 

सचिव अर्यालले इन्टरनेट सेवाप्रदायक र दूरसञ्चार सेवाप्रदायक कम्पनीको बक्यौता असुल गरिएको बताउँदै वल्र्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख १२ हजार रुपियाँ, सुबिसु केबलनेटबाट १७ करोड ४८ लाख ५१ हजार रुपियाँ र भायनेट कम्युनिकेसनबाट २६ करोड ६८ लाख ७६ हजार रुपियाँ रोयल्टी प्राप्त भएको जानकारी दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भई सो ऐनको प्रावधानबमोजिम रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रूपान्तरण गरिएको, यस संस्थाको अध्यक्ष तथा सञ्चालक समितिका सदस्य नियुक्त भई सोही अनुरूप काम सुरु भइरहेको छ ।

रिचार्ज कार्डको छपाइ सुरु

मुद्रण विभागबाट नेपाल टेलिकमका लागि रिचार्ज कार्डको छपाइ सुरु गरिएको मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको, चलचित्रसम्बन्धी ऐन सङ्घीय संसद्मा दर्ता गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रीपरिषद्मा पेस भएको, सार्वजनिक सेवा प्रसारण नियमावली तथा सुरक्षण मुद्रण नियमावली तर्जुमा भई स्वीकृतिको चरणमा रहेको सचिव अर्यालले जानकारी दिनुभयो ।

नेपालमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को प्रयोग एवं अभ्याससम्बन्धी नीति तर्जुमा भई स्वीकृतिको अन्तिम चरणमा रहेको, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति तथा हुलाक सेवासम्बन्धी पुराना ऐनलाई विस्थापित गरी नयाँ ऐन तर्जुमा गर्ने कार्य भइरहेको सचिव अर्यालले जानकारी दिनुभयो ।