• ६ असार २०८२, शुक्रबार

‘आदिबासीको प्रतिनिधित्वले मुलुक समृद्ध बन्छ’

blog

रक्षामन्त्री मनवीर राईले राजकुमार राईलाई सम्मान गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । रक्षामन्त्री मनवीर राईले मुलुकको विविधताअनुसार राज्यको संरचनाहरुमा विविधत्तायुक्त प्रतिनिधित्व कायम गर्न सके मुलुक समृद्ध बन्ने बनाउनुभएको छ । 

आदिबासी जनजाति चलचित्र महासंघको पाँचौ चलचित्र महोत्सवको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । ‘कुनै बेला मातृभाषामा कुरा गर्दा अपहेलित हुनुपर्ने अवस्था थियो, २०४६ सालको आन्दोलनको सफलतापछि त्यो अवस्थाको अन्त्य हुनेक्रम सुरुभएर अहिले लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थामा थप सफलता प्राप्त भएको छ’ उहाँले भन्नुभयो । 

नयाँ संविधानले आदिबासी जनजाति, पछाडि परेका वर्गलाई आरक्षणको व्यवस्था सुनिश्चित गरेपछि थप अवसर प्राप्त भएको चर्चा गर्नुहुँदै मन्त्री राईले भन्नुभयो, “आरक्षणले आदिबासीलाई प्रतिनिधित्वमा सहज भएको छ, यसलाई कायम गर्न आदिबासी समुदाय नै सचेत हुनुपर्छ । आदिबासी जनजातिको मातृभाषाको चलचित्रले समाजमा जागरण ल्याउने काम गरेको मन्त्री राईले बताउनुभयो । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हरेक वर्ष हुने आदिबासी चलचित्र महोत्सवले चलचित्र क्षेत्रमा जागरण ल्याउने काम गरेको बताउनुभयो । आदिबासीका मातृभाषी चलचित्रले समाज जोड्ने काम गरेकाले यसको विकास र प्रवर्धनमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । 

चलचित्र निर्देशक नवीन सुब्बाले बाह्य मुलुकमा आदिबासीका मातृभाषा चलचित्रलाई फरक मान्यता दिएर सम्मान गर्ने काम गरे पनि नेपालमा त्यस्तो हुन नसकेको बताउनुभयो । 

आदिबासी जनजाति चलचित्र महासंघका कार्यबाहक अध्यक्ष भुइसल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शर्पा, नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, प्रतिमा पुनमगर लगायतले आदिबासी जनजाति चलचित्रले समाज जागरणमा गरिरहेको भूमिकाको चर्चा गर्नुभयो । 

चलचित्रको माध्यमबाट समाज रुपान्तरण र आदिबासी चलचित्रको प्रवर्धनमा खेलेको योगदानको प्रसंशा गर्दै कार्यक्रममा राजकुमार राई, नवीन सुब्बा, छिरिङ शेर्पा, डब्बु क्षेत्री र विष्णु शर्मालाई सम्मान गरिएको छ । कार्यक्रममा आदिबासी नृत्य तथा संस्कृति प्रदर्शन गरिएको थियो । महोत्सवमा आदिबासीका विभिन्न भाषाका फिल्म र विदेशी मातृभाषाका चलचित्र प्रदर्शन गरिने बताइएको छ ।