काठमाडौँ, साउन १४ गते । विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ ।
भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ, आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
च्याम्पियनसिपमा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । च्याम्पियनसिपको विजेताले इङल्यान्डमा हुने विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ ।