फडिन्द्र अधिकारी
लेखनाथ, साउन १४ गते । कास्कीको माछापुच्छरे गाउँपालिका –३, घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका वडा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बुधबार दिउँसो साढे २ बजेतिर पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको जानकारी दिनुभयो । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको उहाँले बताउनुभयो ।
घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छरे सडक खण्डमा बिहान पौने १० बजे पहिरो गएको थियो । सोही पहिरोमा परी शिक्षक सुरजमोहन पोखरेल घाइते हुनु भएको छ । घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पोखरेलको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखराबाट विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो । घाइते पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।