• १५ साउन २०८२, बिहिबार

ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण

blog

जिल्ला अस्पताल ताप्लेजुङ । तस्विरः साहारा लिम्बू

साहारा लिम्बू

फुङ्लिङ, साउन १४ गते । हिमाली जिल्ला ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईका अनुसार जिल्लाको मेरिङदेन गाउँपालिकाका १३ वर्षीय बालकमा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको हो । 

उहाँको हाल उपचार भइरहेको र अवस्था सामान्य रहेको सूचना अधिकारी राईले बताउनुभयो । वर्षाको समय भएको र यस समयमा जताततै सफा पानी जम्ने र त्यही पानीमा एजिड एजिप्टाई जातको लामखुट्टेले फुल पार्ने साथै लामखुट्टे फैलिने भएकाले गाउँस्तरमा डेङ्गु देखिएको हुनसक्ने राइको भनाइ छ। 

हिमाली जिल्लामा समेत डेङ्गु देखिएकाले उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रणाम जैरुले बताउनुभयो । गत आर्थिक वर्ष २०८१–८२ मा ताप्लेजुङमा ५ जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । 

यता जिल्ला प्रशासन कार्यालयले हरेक शुक्रबार बिहान सरकारी कार्यालय र सङ्घ संस्थाको कार्यालय तथा आसपासका क्षेत्रमा अनिवार्य सरसफाइ अभियान लाउन निर्देशन जारी गरेको छ । बुधवार दिउँसो भएको डेङ्गु सङ्क्रमण रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साउन र भदौ दुई महिना डेङ्गुको जोखिम हुने भएकाले यो अभियान चलाउनै पर्ने भएको बताउनुभयो । 

यसको प्रारम्भ बिहीबार बिहीबार बिहान ७ बजेदेखि सदरमुकाम फुङलिङको प्रवेशद्वार हेलिप्याडको सशस्त्र प्रहरीको जाँच बिन्दुबाट सुरु गरिने पनि शर्माले बताउनुभयो ।