नवीनराज कुइँकेल
लमजुङ, असार ६ गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताले सरकारको राम्रा कामहरु हेर्न चाहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले जनताको चाहनाअनुरुप राम्रा काम गरेर देखाउने विश्वास दिलाउनुभयो ।
लमजुङ सदरमुकाम बेसीसहरमा शुक्रबार आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बार्षिक समीक्षा बैठकमा सम्बोधन गर्र्दै सञ्चारमन्त्री गुरुङले सरकारले राम्रा काम गर्न सकेमा जनताको गुनासो घट्ने बताउनुभयो ।
“अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखहरुले कस्ता काम गरेका छन् भनेर जनताले मूल्याङ्कन गरिरहेका छन्”, मन्त्री गुरुङले भन्नुभयो, “सरकारले गर्ने कामका आधारमा नै जनमत बढ्ने र घट्ने हुन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”
नेकपा (एमाले) का उपमहासचिव समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले पार्टीका नेता तथा कार्यकर्ताहरु जतिसुकै खटिए पनि जनप्रतिनिधिले राम्रो काम नगरेमा जनमत बढ्न नसक्ने बताउनुभयो । उहाँले पार्टी बलियो भए मात्र सरकारको नेतृत्व गर्न सक्ने र सरकारको सफल नेतृत्व गर्न सके मात्र जनताको सेवा गर्न सकिने बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विचारका हिसावले नेकपा (एमाले) एक ढिक्का हुन जरुरी रहेको बताउनुभयो । “पार्टीभित्र जनताको बहुदलीय जनवाद (जवज) लाई बुझ्ने, ब्याख्या गर्ने, कार्यान्वयन गर्ने शैली सबैको एउटै हुनुपर्छ” उहाँले भन्नुभयो, “तलदेखि माथिसम्म, नेतादेखि कार्यकर्तासम्म बुझाइमा समानता, विचार र सिद्धान्तमा एकताबद्ध हुनुपर्छ ।”
राजनीतिक रुपमा नैतिकवान बन्न नेता कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो । नेताहरु इमान्दार बनेमा मात्र बेइमानलाई कारबाही गर्न सकिने उहाँले बताउनुभयो । नेकपा (एमाले) का नेता कार्यकर्ताले पुनः २०४८ साल तिरकै कार्यशैलीमा फर्कनु पर्ने बेला आएको उहाँले बताउनुभयो ।
“हामी फेरि २०४८ तिरकै पुरानै कार्यशैलीमा फर्कनुपर्छ । त्यतिबेलाकै आचरणमा फर्कनु पर्छ । श्रमजीवीलाई माया गर्ने कार्यशैली हुनुपर्छ । आचरणमा सुधार हुनुपर्छ”, उहाँले भन्नुभयो, “हामी नैतिकवान बन्न सके, इमान्दार बन्न सके, शासकीय सुधारमा क्षमतावान बन्न सके, हाम्रो साथमा जनता हुनेछन् । हामी जनतामाझ हुनेछौं ।”
नेकपा (एमाले) पार्टी विचार र संगठनमा बलियो भएमा बामपन्थी शक्तिविच एकताको सम्भावना बलियो हुने उहाँले बताउनुभयो । उहाँले एमालेलाई बलियो बनाएर मात्र अन्य बाम तथा राष्ट्रबादी शक्तिहरुसँग एकता र सहकार्य अघि बढाउन सकिने उहाँले बताउनुभयो ।
जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नुभएको थियो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज जमीन्द्रमान घले, अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, प्रदेश कमिटीका सदस्यहरुको सहभागिता थियो ।