• १८ माघ २०८१, शुक्रबार

दशरथ चन्दको जन्मघरमा काव्यगोष्ठी

blog

सहिद दशरथ चन्दको जन्मघरमा आयोजित कार्यक्रम । तस्बिरः गाकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, माघ १७ गते । सहिद दिवसको अवसमा दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा अन्तर्राष्ट्रिय काव्यगोष्ठी आयोजना गरी सहिद दिवस मनाइएको छ । गोष्ठीको उदघाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरतमसालीले गर्नुभएको छ । 

माघ १६ र १७ गते आयोजित काव्यगोष्ठीमा नेपाल र भारतका कविहरू सहभागी भएका छन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य तथा राष्ट्रियता संरक्षण अभियानको आयोजनामा अन्तर्राष्ट्रिय काव्यगोष्ठी आयोजना गरिएको कार्यक्रमका अगुवा हेमबाबु लेखकले बताउनुभयो ।

दशरथचन्द नगरपालिका –५, बस्कोटस्थित दशरथ चन्दको जन्मघरको आँगनमा काव्यगोष्ठीसँगै दशरथ चन्दका बारेमा अन्तरक्रिया, छलिया र हुडकेउली नाच प्रस्तुत गरिएको दशरथ चन्द स्मृति प्रष्तिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

दिवसको अवसरमा सुन्दरखालीबाट बाजागाजासहित प्रभातफेरीको आयोजना गरिएको उहाँले बताउनुभयो । 

दशरथ चन्द स्मृति प्रतिष्ठानले सहिद दशरथ चन्द जन्मेको घरमा होमस्टे सञ्चालन गरेको छ । चन्दको जन्मघरको जिर्णेद्वार गरेर दशरथ चन्दको बारेमा अध्ययन, अवलोकन गर्न आउने आगन्तुकको सुविधाका लागि होमस्टेको व्यवस्थासमेत गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

दशरथचन्द नगरपालिका –५, बस्कोटमा रहेको दशरथ चन्द जन्मेको घरका आठ वटा कोठाको दुई तले घरको जिर्णोद्वार गरी रङ्गरोगन गरेर चिटिक्क पारिएको छ । सेतो रङ्गको घरको भित्तामा दशरथ चन्दको अर्ध तस्बिर बनाइएको छ । भुँइतलामा भान्साकोठा, अतिथि कक्ष र माथिल्लो तलामा रहेका चार वटा कोठामा टेलिभिजन र इन्टरनेटको सुविधासहित बास बस्नेगरी घर पुनःनिर्माण गरिएको छ ।

यसैबिच दशरथ चन्द स्मृति प्रतिष्ठानलाई सरकारी मान्यता दिने कुरा दिवसका दिन मात्र चर्चा हुने र त्यसपछि सेलाएर जाने गरेको साहित्यकार हेमबाबु लेखकले बताउनुभयो । दशरथ चन्द स्मृति प्रतिष्ठानलाई सरकारी मान्यता दिन पटक–पटक माग उठे पनि सुनुवाई नभएको लेखकले बताउनुभयो ।

दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडीको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखबाट माइला छोराका रूपमा भएको थियो । राणा शासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्वका रूपमा सहिद दशरथ चन्द रहनु भएको थियो । 

राणा विरोधी आन्दोलनमा दशरथ चन्दले आफूलाई सुशील र सेवा सिंह उपनामबाट प्रचार र लेखहरू लेख्ने गर्नुहुन्थ्यो । सहिद दशरथ चन्दले वनारसबाट मानविकी तथा समाजशास्त्र विषयमा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । तत्कालीन राणा सरकारले विसं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।